२०८२ आश्विन २४ गते, शुक्रबार १८:४६

व्यक्तिगत सवारी साधनको रूपमा सबैभन्दा बढी प्रयोग हुने मोटरसाइकलको आयात ७८ प्रतिशतले बढ्यो

वीरगन्ज-

मध्यमवर्गीय नेपाली परिवारले व्यक्तिगत सवारी साधनको रूपमा सबैभन्दा बढी प्रयोग गर्ने मोटरसाइकलको आयातमा उल्लेख्य वृद्धि भएको छ। देशको मुख्य व्यापारिक नाका वीरगन्जमार्फत नेपालका लागि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा अनअसेम्बल्ड मोटरसाइकलको आयात ४० प्रतिशतले र तयार मोटरसाइकलको आयात ६८ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको साउन र भदौ महिनामा वीरगन्ज नाकाबाट भारत तथा तेस्रो मुलुकबाट १ अर्ब ८५ करोड ९५ लाख रुपैयाँका १४ हजार ७६६ थान अनअसेम्बल्ड र ११ करोड ३७ लाख रुपैयाँका १ हजार २३१ थान तयार मोटरसाइकल आयात भएका थिए। तुलनात्मक रूपमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७९ करोड ७ लाख रुपैयाँका २० हजार ६२० थान अनअसेम्बल्ड र २० करोड ३२ लाख रुपैयाँका २ हजार ६८ थान तयार मोटरसाइकल आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ९३ करोड १२ लाख रुपैयाँ बढी मूल्यका ५ हजार ८५४ थान अनअसेम्बल्ड मोटरसाइकल र ८ करोड ९५ लाख रुपैयाँ बढी मूल्यका ८३७ थान तयार मोटरसाइकल बढी आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

मध्यमवर्गीय परिवारले वर्षभरि बचत गरी दशैं–तिहारका बेला व्यक्तिगत सवारी साधन खरिद गर्ने र यसै समयमा मोटरसाइकल निर्माण कम्पनीहरूले समेत ग्राहकलाई आकर्षित गर्न विशेष छुटको व्यवस्था गर्ने गरेकाले मोटरसाइकलको आयातमा उल्लेख्य वृद्धि देखिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार, मोटरसाइकलको आयात बढेसँगै यसको सकारात्मक प्रभाव वीरगन्ज भन्सार कार्यालयको राजस्वमा समेत देखापरेको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५ अर्ब १९ करोड ४ लाख रुपैयाँ अर्थात् १५.२१ प्रतिशतले बढी राजस्व संकलन भएको पोखरेलले बताउनुभयो।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा ३३ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो।

नेपालमा अहिले ४७ लाखभन्दा बढी मोटरसाइकल व्यक्तिगत प्रयोगमा रहेका नेपाल सरकारको तथ्यांकमा उल्लेख गरिएको छ।

पोडकास्ट सुन्नुहोस