२०८२ आश्विन २४ गते, शुक्रबार १९:२१

सेटिङमा भित्र्याइएको अवैध कपडा र पटाखासहित दुई जना पक्राउ

वीरगन्ज-

तिहार नजिकिँदै जाँदा सिमाक्षेत्रबाट राजधानीतर्फ हुने मालवस्तुको तस्करीमा तीव्रता आएको छ। सिमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीलाई मिलाएर कारोबारीहरूले कपडा, पटाका लगायतका वस्तुहरूको अवैध पैठारी गरिरहेका छन्।

देशको मुख्य व्यापारिक नाका वीरगन्जको सिमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीलाई नजराना बुझाई भित्र्याइएको अवैध सामानसहितको एक गाडीलाई शुक्रबार बिहान मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहीबार नै वीरगन्जमा सुरक्षाकर्मी तथा कर्मचारीसँग मिलेर ‘सेटिङ’ गरी भित्र्याइएको म.प्र.०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हो।

मकवानपुरको वडा नं. १५ रातोमाटेस्थित चार्जिङ स्टेशन अगाडिबाट नियन्त्रणमा लिइएको उक्त गाडीमा चेकजाँच गर्दा भन्सार छली भित्र्याइएको करिब ३४ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको उक्त गाडीको पछाडिको ढालाभित्र लुकाएर राखिएको १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स, १ हजार १ थान कपडा र करिब २० लाख रुपैयाँ बराबरका प्रतिबन्धित झिरझिरे पटका समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

वाहनका चालक रौतहट बृन्दावन नगरपालिका–९ निवासी २० वर्षीय प्रदीप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ निवासी ३१ वर्षीय विजय साहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ।

बरामद भएका कपडाको अनुमानित मूल्य करिब १४ लाख रुपैयाँ र पटाखाको बजार मूल्य करिब २० लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ।

बरामद मालसामान र पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

पोडकास्ट सुन्नुहोस