वीरगन्ज-
देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज प्रयोग गरी नेपालमा हुने इन्धन आयातमा भारी कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगन्ज नाकाबाट खाना पकाउने एलपी ग्याँस, डिजेल र मट्टितेलको आयात घटेको हो।
आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असोजसम्मको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा खाना पकाउने एलपी ग्याँस र डिजेलको आयात ९–९ प्रतिशतले घटेको छ भने मट्टितेलको आयात ३९ प्रतिशतले कमी आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट १७ अर्ब १९ करोड मूल्यको १ लाख ९२ हजार ६६३ किलो लिटर (केएल) डिजेल, १३ करोड ९९ लाख मूल्यको १ हजार ५०० केएल मट्टितेल र ८ अर्ब २४ करोड ८३ लाख मूल्यको ७५ हजार ५५२ मेट्रिक टन खाना पकाउने ग्याँस आयात भएको थियो। तुलनामा, चालु आवको सोही अवधिमा १५ अर्ब ७२ करोड ८३ लाख मूल्यको १ लाख ७४ हजार ९२४ केएल डिजेल, ८ करोड २२ लाख मूल्यको ९५० केएल मट्टितेल र ७ अर्ब ४९ करोड २८ लाख मूल्यको ७३ हजार ९७७ मेट्रिक टन ग्याँस आयात भएको भन्सार कार्यालयले जनाएको छ।
समिक्षा अवधिको तुलनामा चालु आवमा डिजेल १७ हजार ७३८ केएल, मट्टितेल ५५० केएल र ग्याँस १ हजार ५७५ मेट्रिक टनले कम आयात भएको भन्सार कार्यालयले जनाएको छ।
वीरगन्ज नाकामार्फत नेपालका लागि हुने पेट्रोलको आयात भने १४ प्रतिशत र हवाई इन्धनको आयात ४ प्रतिशतले बढेको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
गत आवको पहिलो त्रैमासिकमा वीरगन्ज नाकाबाट नेपालका लागि ९ अर्ब ६५ करोड मूल्यको १ लाख ९ हजार २८७ केएल पेट्रोल र ३ अर्ब ९२ करोड ५२ लाख मूल्यको ४२ हजार २३६ केएल हवाई इन्धन आयात भएको थियो। तुलनामा, चालु आवको सोही अवधिमा नेपालका लागि १० अर्ब ७२ करोड ७१ लाख मूल्यको १ लाख २५ हजार ३५० केएल पेट्रोल र ४ अर्ब ५ करोड ९७ लाख मूल्यको ४५ हजार १६७ केएल हवाई इन्धन आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ पोखरेलले जानकारी दिनुभयो।
वीरगन्ज नाकाबाट नेपालका लागि आवश्यक इन्धनको ७० प्रतिशतभन्दा बढी आपूर्ति हुने गर्छ भने ६५ प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ र दैनिक उपभोग्य वस्तुको आयात यसै नाकाबाट हुने गरेको छ।















