काठमाडौं –
भारतको बिहार राज्यमा आज (मंगलबार) विधानसभाको दोस्रो चरणको मतदान भइरहेको छ। दोस्रो चरणअन्तर्गत १२२ सिटका लागि मतदान हुँदैछ।
भारतीय निर्वाचन आयोगका अनुसार आज राज्यभर ४५ हजार ३९९ मतदान केन्द्रमा मतदान भइरहेको छ। यी १२२ सिटका लागि कुल १,३०२ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा १,१६५ पुरुष, १३६ महिला र एक तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।
यस चरणमा झण्डै ३ करोड ७० लाख मतदाताले मतदान गर्ने अनुमान गरिएको छ। तीमध्ये १ करोड ९५ लाख पुरुष, १ करोड ७४ लाख महिला र ९४३ तेस्रो लिङ्गी मतदाता रहेका छन्। साथै ४ लाख ४ हजार अपाङ्ग मतदाता र ६३ हजार ३७३ जना सेवा मतदाता रहेका छन्।
यसअघि पहिलो चरणअन्तर्गत १२१ सिटका लागि मतदान गत बिहीबार सम्पन्न भएको थियो। सो चरणमा रेकर्ड ६४.६६ प्रतिशत मतदान भएको थियो, जुन बिहार विधानसभाको इतिहासमै सबैभन्दा बढी हो।
बिहार विधानसभामा कुल २४३ सिट छन्। सन् २०२० मा सम्पन्न अघिल्लो चुनावमा तेजश्वी यादव नेतृत्वको राष्ट्रीय जनता दल (आरजेडी) ले ७५ सिट जितेको थियो। त्यस्तै भारतीय जनता पार्टी (भाजपा) ले ७४ सिट र नितीश कुमारको जनता दल (युनाइटेड) ले ४३ सिट हासिल गरेका थिए।
निर्वाचन आयोगका अनुसार विधानसभाको यो निर्वाचनको अन्तिम नतिजा नोभेम्बर १४ मा सार्वजनिक गरिनेछ।















