रक्सौल/शंकर गणेश
बिहार विधानसभाको लोकतन्त्रको महान पर्व अन्तर्गत दोस्रो चरणको मतदान आज पूर्वी चम्पारण जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमा भइरहेको छ। तीमध्ये नेपाल सीमावर्ती रक्सौल विधानसभा क्षेत्रमा मतदानको विशेष सुरक्षा व्यवस्था गरिएको छ।
रक्सौल नेपालसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले त्याहाँ शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि सुरक्षा बललाई सतर्क राखिएको छ। रक्सौल क्षेत्रमा कुल २ लाख ८५ हजार ७१४ मतदाता रहेका छन्, जसमा १ लाख ५२ हजार ८९४ पुरुष, १ लाख ३२ हजार ८१० महिला र १० तेस्रो लिंगी मतदाता छन्।
यस पटक रक्सौलमा तीन प्रमुख दलबीच प्रत्यक्ष प्रतिस्पर्धा देखिएको छ।
-
भारतीय जनता पार्टी (बीजेपी) बाट वर्तमान विधायक प्रमोदकुमार सिन्हा,
-
कांग्रेसबाट पूर्व मन्त्री तथा राजद सरकारका पूर्व सदस्य श्याम बिहारी प्रसाद,
-
जन सुराज पार्टी (प्रशान्त किशोरको समूह)बाट कपिलदेव प्रसाद उर्फ भुवन पटेल प्रतिस्पर्धामा छन्।
बीजेपीले यसपटक पनि आफ्नै वर्तमान विधायकलाई उम्मेदवार बनाएको छ भने, जदयूका बागी नेता र पूर्व मन्त्री श्याम बिहारी प्रसादलाई कांग्रेसले उम्मेदवार बनाएको हो। त्यस्तै, मोतिहारी जदयूका पूर्व जिल्ला अध्यक्ष कपिलदेव प्रसादले प्रशान्त किशोरको जन सुराज पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन्।
पहिलो चरणमा देखिएको बम्पर मतदानले सबै दलहरू उत्साहित बनेका छन्। दोस्रो चरणमा पनि मतदान प्रतिशत बढ्ने अनुमान गरिएको छ।
नेपाल–बिहार सीमामा मतदानअघि ७२ घण्टादेखि नाकाबन्दी गरिएको भए पनि नेपालमा काम गर्ने दर्जनौँ बिहारी नागरिक आफ्नो मताधिकार प्रयोग गर्न रक्सौल फर्किएका छन्। उनीहरूको परिचयपत्र र सामग्रीहरूको सुरक्षाकर्मीहरूले कडाइका साथ जाँचपछिमात्र प्रवेश दिइरहेका छन्।
सन् २०२० को विधानसभामा बीजेपीले ८० हजार ९७९ (४५.६%) मत प्राप्त गरी जित हासिल गरेको थियो। कांग्रेसलाई ४४ हजार ५६ (२४.६१%) र स्वतन्त्र उम्मेदवार सुरेश यादवलाई २८ हजार ५९२ (१६.१%) मत प्राप्त भएको थियो।
तर, यसपटक २०२० का स्वतन्त्र उम्मेदवार सुरेश यादवले मतदानको अघिल्लो दिन नै बीजेपीको सदस्यता ग्रहण गरेका छन्। यसले रक्सौलमा नयाँ समीकरण खडा गरेको छ। अब हेर्न बाँकी छ—रक्सौलका मतदाताले यो पटक कसको पक्षमा निर्णय लिन्छन् ?
















