वीरगन्ज-
पर्साको पटेर्वा सुगौलीमा जारी निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ। गत कार्तिक २२ गतेदेखि सुरु भएको उक्त शिविरमा विभिन्न पाँच पालिकाका ४ सय ७ जना व्यक्तिको आँखामा रहेको मोतियाबिन्दुको शल्यक्रिया गर्दै कार्यक्रम सम्पन्न भएको हो।
केयर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोग र तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र निचुटाले आयोजना गरेको यस निःशुल्क आँखा शिविरमा ५ सय १० जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने तयारी गरिएको थियो।
तर, शिविरमा आएका केही बिरामीहरूमा मधुमेह, रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएपछि १ सय ३ जनाको शल्यक्रिया नगरी घर फर्काइएको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले जानकारी दिनुभयो।
उहाँका अनुसार सामुदायिक आँखा अस्पताल मकवानपुर र तिलगंगा अस्पताल काठमाडौंको सहयोगमा गत कार्तिक १४ गतेदेखि पर्साको सखुवा प्रसौनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका र पोखरिया नगरपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमा २ हजार ५ जनाको आँखाको परीक्षण गर्दा करिब ६ सयजना मोतियाबिन्दुका बिरामी भेटिएका थिए, जस मध्ये ५ सय १० जना शल्यक्रियाका लागि शिविरमा आएका थिए।
शिविरमा आँखा परीक्षण गराउन आएका बिरामीहरूमध्ये दृष्टिदोष देखिएका बिरामीलाई तत्कालै निःशुल्क चश्मा वितरण गरिएको थियो भने अन्य रोग देखिएका बिरामीलाई औषधि उपलब्ध गराइएको अध्यक्ष चौधरीले बताउनुभयो।
तिलगंगा आँखा अस्पताल काठमाडौंकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. मोहिनी श्रेष्ठको नेतृत्वमा डा. सुनिल थापा, डा. वन्दना अधिकारीलगायतको टोलीले बिरामीहरूको आँखाको शल्यक्रिया गरेको थियो।
वर्षमा एक पटक निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको पटेर्वा सुगौली गाउँपालिकाले अब वर्षमा दुई पटक यस्ता शिविर सञ्चालन गर्ने तयारी गरेको पालिकाकी उपाध्यक्ष ममता महतोले जानकारी दिनुभयो। उहाँका अनुसार पर्साको ग्रामीण क्षेत्रमा मोतियाबिन्दु, दृष्टिदोषलगायतका आँखाका रोगीको संख्या धेरै भएकाले अबदेखि वर्षमा दुई पटक आँखा शिविर सञ्चालन गर्ने निर्णय गरिएको हो।















