वीरगन्ज-
वीरगन्ज–२५ सिर्सियामा सञ्चालित श्री नेपाल राष्ट्रिय रामअज्ञा चतुर्वेदी आधारभूत विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीलाई दातृ परिवारले शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय ब्याग, कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।
स्व. रामअज्ञा चतुर्वेदीकी धर्मपत्नी तथा संविधान सभा सदस्य एवम् पूर्व प्रतिनिधि सभा सदस्य आशा चतुर्वेदीका तर्फबाट उनका प्रतिनिधि समराट बुढाथोकीले ल्याएका शैक्षिक सामग्रीहरू वितरण गरिएको वीरगन्ज महानगरपालिका–२५ का वडा अध्यक्ष अशुतोष चतुर्वेदीले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि दातृ परिवारले निकट भविष्यमै जुत्ता पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बुढाथोकीले बताएका छन्।
विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूका सुविधाका लागि सुविधा सम्पन्न शौचालय निर्माण गर्न वडा कार्यालयले चाँडै पहल गर्ने प्रतिबद्धता गरेको विद्यालयका प्रधानाध्यापक गम्भिरा साहले जानकारी दिनुभयो।
विद्यालयका विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्रीदेखि भौतिक पूर्वाधारसम्मका क्षेत्रमा दातृ परिवारले निरन्तर सहयोग गर्दै आएको प्रधानाध्यापक साहले बताउनुभयो।















