वीरगन्ज –
पर्सा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीमध्ये एक हजार ६९७ वटा मेलमिलापमार्फत टुंग्याइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार जिल्लाभर दुई हजार ३६७ वटा उजुरी परेका थिए, जसमा हालसम्म छ सय ३५ उजुरी फछ्र्योट हुन बाँकी छन्। मेलमिलापको क्रममा रु २९ करोड १२ लाख ८५ हजार ५९७ बराबरको रकम र ४० बिघा १५ कट्ठा १९ धुर जग्गा पीडितको नाममा फिर्ता गराइएको प्रहरीले जानकारी दिएको छ।
मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले अझै पनि साहुकारहरूको शोषण प्रवृत्ति नहटेको बताउँदै भने, “रु एक लाखको ऋण दिएर रु तीन लाखसम्मको तमसुक बनाउने साहुकारहरूको चलन रोकिएको छैन। वास्तविक मिटरब्याज पीडित अझै पनि न्यायबाट वञ्चित छन्।”
त्यस्तै, पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि लिएको रु एक लाख १० हजार ऋणको बदलामा साहुकारले रु तीन लाख ३० हजारको तमसुक बनाएको आरोप लगाए। उनले भने, “सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न गम्भीर ध्यान दिनुपर्छ।”
प्रहरीका अनुसार बाँकी उजुरीहरू समेत क्रमशः फछ्र्योट गर्ने प्रक्रिया जारी छ।















