२०८२ कार्तिक ३० गते, आईतवार १७:५०

मूल गेटमै एण्ट्री व्यवस्था लागू भएपछि जिल्ला प्रहरी कार्यालयमा विचौलियाको संख्या घट्दै

वीरगन्ज –

राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक अभियन्ता भन्दै परिचयपत्र बनाउने स्वार्थ समूहको उपस्थित अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा कम भएको छ। कार्यालयमा सेवा लिन आउने पीडितसँग एक जना मात्र आफन्तलाई प्रवेश गर्ने व्यवस्था लागू भएपछि विचौलियाको प्रभाव घट्न थालेको हो।

‘प्रहरीसँग मेरो पहुँच छ’, ‘तपाइँको काम छिटो गराइदिन्छु’, ‘यति पैसा लाग्छ’ भन्दै रकम असुल्ने व्यक्तिहरू बढेपछि प्रहरीले कार्यालय प्रवेशमा अनिवार्य एण्ट्री प्रणाली लागू गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हालेका प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकका अनुसार एण्ट्री प्रणाली लागू भएपछि कार्यालयमा दिनभर बसेर सेवाग्राहीलाई गलत बाटो देखाउनेहरूको संख्या घटेको सर्वसाधारणले अनुभव गरिरहेको बताए।

विचौलिया नियन्त्रणमा कडा निगरानी

दिनभर कार्यालयमा बस्ने, सेवाग्राहीलाई झुक्याउने र पैसाको माग गर्ने व्यक्तिहरूलाई कार्यालय प्रवेशमै रोक लगाइएको एसपी पाठकले बताए।

“कामले आएका सेवाग्राहीको गुनासो सुन्ने, सहयोग गर्नुपर्ने जिम्मेवारी प्रहरीकै हो। त्यसैले सहयोगको नाममा प्रवेश गर्ने असम्बन्धित व्यक्तिहरूलाई रोक लगाइएको छ,”-उहाँले भने।

एसपी पाठकका अनुसार एक पीडितसँग एक जना मात्र आफन्तलाई प्रवेश दिने व्यवस्था लागू भएपछि सेवाग्राहीले आफ्नो कुरा निर्धक्कसँग राख्न सक्ने वातावरण बनेको छ।

उजुरी दिन आउने व्यक्तिलाई उजुरी कहाँ, कसरी दिने भन्ने सम्पूर्ण विवरण कार्यालयको मुख्य गेटमा खटिएका सुरक्षाकर्मीले उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। आवश्यक परे सेवाग्राहीलाई कार्यालयका जिम्मेवार अधिकृतको समक्ष तुरुन्त पुर्‍याइने समेत बताइएको छ।

पहिले कार्यालयमा आउने धेरै व्यक्तिहरू असम्बन्धितको फेरमा परेको, समय र पैसाको दुरुपयोग भएको गुनासो आएपछि अनिवार्य एण्ट्री प्रणाली लागू गरिएको प्रहरीको भनाइ छ।

१०० नम्बरलाई बनाइँदै थप प्रभावकारी

गोप्यखबरसँगको कुराकानीमा एसपी पाठकले प्रहरीको २४ घण्टा सेवा सञ्चालनमा रहेको १०० नम्बरलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको बताए।

पहिले १०० नम्बरमा एउटा मात्र डेक्स सञ्चालनमा रहेकोमा अब चाँडै तीनवटा डेक्स राखेर सेवा उपलब्ध गराइने उनले बताए।

“साना–ठूला सबै विषयमा प्रहरी अधिकारीलाई सिधै फोन गर्नु भन्दा १०० नम्बरमा फोन गर्दा समस्या छिटो समाधान हुन्छ,”-उनले भने।

दुर्घटना, झैझगडा, आपतकालीन अवस्था वा अरू कुनै घटनामा १०० नम्बरमा फोन गर्न उनले सर्वसाधारणलाई आग्रह गरे।

 

पोडकास्ट सुन्नुहोस