२०८२ मंसिर ३ गते, बुधबार ०७:३३

बंगलादेशकी शेख हसिनालाई ‘मानवताविरोधी अपराध’मा मृत्युदण्डको सजाय

काठमाडौं–

बंगलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र मानवताविरोधी अपराध गरेको अभियोगमा बाङ्ग्लादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री शेख हसिनालाई दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला सुनाएको छ।

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी)ले सोमवार उनीसहित उनको मन्त्रिपरिषद्‌मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल(मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो।

इजलासको अध्यक्षता गरेका न्यायाधीशले उनीहरूविरुद्ध परेका सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसा सविस्तार पढेर सुनाएका थिए।

हसिनाले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन्। गत साता बीबीसीलाई इमेलमार्फत् पठाएको जबाफमा हसिनाले आफ्नो अनुपस्थितिमा राजनीतिक प्रतिद्वन्द्वीहरूद्वारा नियन्त्रित ूक्याङ्गरू कोर्टू मा सुनुवाइ भएको भन्दै त्यसलाई नौटंकीको संज्ञा दिएकी थिइन्।

फैसला हुँदा अदालतको कक्षमा वकिलहरू, मृतकका आफन्तहरू र सञ्चारकर्मीहरूसहित १०० जनाभन्दा बढी मानिस उपस्थित थिए।

गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा सुरु भएर चर्किएको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना सत्ता त्याग्न बाध्य भएकी थिइन्। संयुक्त राष्ट्रसंघको एउटा अनुमानअनुसार उक्त आन्दोलनका क्रममा १,४०० जनाको मृत्यु भएको थियो।

फैसला आउनुअघि शेख हसिनाको परिवारसँग जोडिएको एउटा स्थानमा पुगेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले स्टन ग्रिनेड प्रहार गरेको थियो। धनमण्डीस्थित उक्त स्थानमा हसिनाका पिताको पुरानो निवास छ। बीबीसी

पोडकास्ट सुन्नुहोस