२०८२ मंसिर ११ गते, बिहीबार १४:१६

रक्सौलमा थार गाडी नहरमा खस्दा पत्रकार रैयाज आलमको मृत्यु, अन्य गम्भीर घाइते

शंकर गणेश/रक्सौल

बुधवार राती — रक्सौल–घोड़ासहन नहर कैनाल सडक नजिक रहेको त्रिलोकीनाथ मन्दिर क्षेत्रमा एक तेज रफ्तार थार कार अनियन्त्रित भई सडक किनारमा रहेको रेलिङ तोडेर नहरमा खसेको छ। दुर्घटनामा रक्सौलको रामगढवा निवासी र दैनिक भास्करका पत्रकार तथा शिक्षक रैयाज आलम उर्फ लड्डूको घटनास्थलमै मृत्यु भएको छ भने अन्य यात्रु गम्भीर घाइते छन्।

थार गाडीको नम्बर बि.आर ०५पिबि ५९७६ रहेको बताइएको छ। दुर्घटना लगत्तै आसपासका स्थानीय नागरिक घटनास्थलमा पुगेका थिए र नहरको गहिरो पानी र गाडी क्षतिग्रस्त भए पनि स्थानीयले जोखिम मोलेर यात्रुहरूलाई उद्धार गरेका थिए।

सूचना प्राप्त भएपछि रक्सौल प्रहरी र स्थानीय प्रशासनको टोली घटनास्थल पुगेको थियो। प्रहरी तथा स्थानीय युवाहरूले गाडीका शिसा र ढोका तोडेर यात्रुहरूलाई निकाल्ने प्रयास जारी राखेका थिए।

घाइतेहरूको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि एसआरपी अस्पताल पठाइएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार गाडी तीव्र गतिमा थियो जसका कारण चालकले नियन्त्रण गुमाएको अनुमान छ। गाडी नहरमा खस्दा यसको अगिल्लो भाग पूरै च्यापिएको बताइएको छ।

दुर्घटनामा गाडीमा सवार चालक दिलीप कुमार, राजकुमार गुप्ता, कुणाल गुप्तालगायत अन्य साथीहरू घाइते भएका छन्।

रक्सौल थानाध्यक्ष अभिषेक कुमारले घटनाबारे जानकारी दिँदै भने, “मीडियाकर्मी रैयाज आलमको मृत्यु भएको पुष्टि भएको छ। अन्य घाइतेहरूको उपचार भइरहेको छ र घटनाको अनुसन्धान भइरहेको छ।”

रैयाज आलम र उनका साथीहरू विवाह समारोहबाट फर्कदै गर्दा दुर्घटना भएको बताइएको छ।

दुर्घटनापछि दीपक कुमार ,गणेश शंकर,लव कुमार चौबे,मुनेश राम,रवि कुमार, उदय श्रीवास्तव,विजय गिरी,मनोज कुमार , पत्रकार समाज, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र विभिन्न संघ–संस्थाले शोक व्यक्त गरेका छन्।
नेपाल–भारत सहयोग मञ्चका अशोक वैद्य तथा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले पनि गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पोडकास्ट सुन्नुहोस