वीरगन्ज-
३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सहभागितामूलक समावेशी समाज निर्माणका लागि वीरगन्जमा आज भव्य र्याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। आईज नेपाल (EYES Nepal) को आयोजनामा गरिएको उक्त कार्यक्रम विभिन्न विद्यालय, सामाजिक संस्था तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न भएको हो।
र्यालीको अध्यक्षता आईज नेपालका अध्यक्ष महेश साहले गरेका थिए। बिहानैदेखि सुरु भएको र्यालीमा वीरगन्जका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, नागरिक समाजका सदस्य तथा संघ–संस्थाका पदाधिकारीहरू उत्साहका साथ सहभागी भएका थिए। शहरका प्रमुख मार्ग परिक्रमा गरिएको र्यालीले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितता, पहुँचयुक्त संरचना, समान अवसर तथा सम्मानजनक जीवनका विषयमा जनचेतना फैलाएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले समाजमा अपाङ्गता भएका व्यक्तिप्रति अझै पनि रहेको पूर्वाग्रह हटाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। “समावेशीता केवल कागजी प्रतिबद्धता मात्र होइन, व्यवहारमै लागू हुनुपर्छ,” उनले भने। शिक्षा, सीप, रोजगारी, स्वास्थ्य तथा यातायातमा अपाङ्गता भएकालाई सहजता प्रदान गर्न संस्थागत र सामूहिक रूपमा सबै सक्रिय हुनुपर्ने उनको धारणा थियो।
कार्यक्रमका प्रमुख अतिथि, पर्साका प्रमुख जिल्ला अधिकारी (सीडिओ) भोला दहालले अपाङ्गता भएका व्यक्तिलाई राज्यका प्राथमिकता प्राप्त नागरिकका रूपमा हेरी आवश्यक सेवा–सुविधा उपलब्ध गराउन प्रशासन प्रतिबद्ध रहेको बताए। उनले सेवा–सुविधा वितरणमा कुनै पनि प्रकारको भेदभाव सह्य नहुने भन्दै सबै सरकारी तथा गैरसरकारी निकायले समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।
सीडिओ दहालका अनुसार सार्वजनिक संरचनामा पहुँचयुक्त सुविधा विस्तार, रोजगारी अवसर अभिवृद्धि तथा स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राखिनेछ। “अपाङ्गता भएका व्यक्तिको पहुँच र सहभागिता सुनिश्चित गर्न सबै मिलेर अघि बढ्नुपर्छ,” उनले भने।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, समाजसेवी, स्थानीय प्रतिनिधि तथा आईज नेपालका पदाधिकारीहरू उल्लेखनीय संख्यामा सहभागी थिए। विशेष उपस्थितिमा आईज नेपालकी कोषाध्यक्ष रुपशिला जैसवाल, शिक्षक माटिन मोक्तान, सामाजिक अभियन्ता तथा स्थानीय प्रतिनिधिहरू सहभागी थिए।
आयोजकका अनुसार र्याली तथा शुभकामना आदान–प्रदान कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, योगदान र अधिकारका विषयमा समाजमा सकारात्मक सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।














