वीरगन्ज-
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले विभिन्न ३५ सूत्रीय माग राखी आइतबार जिल्ला प्रशासन कार्यालय पर्साको मूल ढोका अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
आइतबार बिहान ११:३० बजेदेखि ३ बजेसम्म आयोजित उक्त धर्नामा सहभागी नेताहरूले विद्यमान निर्वाचन क्षेत्रको पुनर्गठन गर्नुपर्ने र शासकीय स्वरूपमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए। जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार पार्टीले समान जनसङ्ख्याका आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने मागलाई प्रमुखताका साथ उठाएको छ। यसका साथै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था, संविधान संशोधन गरी राष्ट्रिय-जातीय पहिचानका आधारमा राज्यको पुनः संरचना गर्नुपर्ने र उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ (१०+१) बमोजिमको संघीयता कार्यान्वयन गर्नुपर्ने माग अघि सारिएको छ।
धर्ना कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, शशी कपूर मियाँ, करिमा बेगम, र घनश्याम गुप्ता लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। धर्नालाई सम्बोधन गर्ने क्रममा नेताहरूले शिक्षा र स्वास्थ्य सेवामा भइरहेको व्यापारीकरण बन्द गर्नुपर्ने, गरिब तथा विपन्न वर्गका लागि निःशुल्क प्राविधिक शिक्षा र रोजगारीको सुनिश्चितता हुनुपर्ने र युवाहरूलाई स्वरोजगार नहुन्जेल बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।
जसपाले भ्रष्टाचार नियन्त्रण, सुशासन, र पारदर्शिताका साथै विगतका मधेस र थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दाहरू खारेज गरी राजबन्दीहरूलाई रिहा गर्नुपर्ने विषयलाई पनि आफ्नो माग पत्रमा समेटेको छ। अध्यक्ष यादवले शुक्रबार र आइतबार गरी दुई दिने धर्ना कार्यक्रममार्फत सरकारलाई आफ्ना मागहरूप्रति संवेदनशील हुन दबाब दिएको बताउनुभयो। पार्टीले स्थानीय तहको निर्वाचन गैर-दलीय आधारमा हुनुपर्ने र बहुभाषिक नीति लागू गर्नुपर्ने माग समेत राखेको छ।














