सुनस-
विराटनगरस्थित नोबेल मेडिकल कलेजको साढे ६ तलाबाट हामफालेका चिकित्सकको मृत्यु भएको छ। आइतबार बिहान साढे ६ बजे हामफालेका उनको घटनास्थलमा नै मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी कबित कटुवालले बताए।
मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययन सकेर इन्टर्न गरिरहेका सप्तरीको राजविराज नगरपालिका–९ का ३४ वर्षीय अमित यादवले हामफालेर आत्महत्या गरेको एसपी कटुवालले बताए। उनी एमबीबीएस अध्ययन पूरा गरी हाल नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गर्दै आएका थिए। कलेज परिसरभित्रै उनी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाको मुचुल्का तयार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी प्राप्त भएको एसपी कटुवालले बताए। घटनाको थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ।














