२०८२ पुष १० गते, बिहीबार १६:३८

अलिगढ मुस्लिम युनिभर्सिटीमा गोलीकाण्ड, शिक्षकको गोली हानी हत्या

अलिगढ (उत्तर प्रदेश)-
उत्तर प्रदेशको अलिगढस्थित अलिगढ मुस्लिम युनिभर्सिटी (AMU) परिसरमा भएको गोलीकाण्डमा एक शिक्षकको मृत्यु भएको छ। अज्ञात आक्रमणकारीले गोली हानी हत्या गरेपछि विश्वविद्यालय परिसरमा त्रास र आक्रोश फैलिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार AMU अन्तर्गतको एबीके हाईस्कुलका शिक्षक राव दानिश मंगलबार साँझ विश्वविद्यालय परिसरमा हिँडिरहेका बेला दुई जना अज्ञात व्यक्तिले मोटरसाइकलबाट आएर उनीमाथि नजिकैबाट गोली प्रहार गरेका थिए। गोली टाउकोमा लागेपछि गम्भीर घाइते भएका दानिशलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटना विश्वविद्यालयको मौलाना आजाद पुस्तकालय नजिकको क्षेत्रमा भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरूले अचानक गोली चलाएर फरार भएका थिए। घटनापछि परिसरमा अफरातफरी मच्चिएको थियो।

अलिगढ प्रहरीले घटनास्थल घेराबन्दी गरी CCTV फुटेज संकलन, फरेन्सिक परीक्षण तथा सम्भावित कारणहरूको अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार हालसम्म आक्रमणको स्पष्ट कारण खुल्न सकेको छैन भने दोषीको खोजीका लागि विशेष टोली परिचालन गरिएको छ।

यस घटनापछि AMU प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूले विश्वविद्यालयभित्रै भएको यस प्रकारको घटनाले सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको प्रतिक्रिया दिएका छन्।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डिया, इन्डिया टीभी र एनडीटीभी ले पनि शिक्षकको हत्या भएको पुष्टि गर्दै प्रहरी अनुसन्धान जारी रहेको उल्लेख गरेका छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरू छिट्टै पक्राउ पर्ने दाबी गर्दै सार्वजनिक शान्ति कायम राख्न सहयोग गर्न नागरिकहरूलाई आग्रह गरेको छ।

पोडकास्ट सुन्नुहोस