काठमाडौँ-
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरू एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ ।
आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरू, वैकल्पिक शक्तिहरू सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौँ । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरू एक भएर जान म आह्वान गर्छु ।’
नेपाली जनताको चाहना पनि यही भएको उनले बताए । ‘आजको दिन नेपाली जनताको सबै वैकल्पिक शक्तिहरू एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दिओस् भन्ने चाहना छ । यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ,’ वर्तमान सरकारका मन्त्री समेत रहेका घिसिङले भने ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच सात बुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले बालेनसँग एकता तथा सहकार्यका लागि छलफल समेत अगाडि बढाएका थिए । तर रवि र बालेन एक हुँदा कुलमान भने अहिले छुटेका छन् ।
घिसिङले उज्यालो नेपाल पार्टी सम्मान र स्वाभिमान नमेटाइकन सबैसँगै सहकार्य गर्न तयार रहेको बताए । त्यसको गृहकार्य पनि भइरहेको भन्दै उनले केही दिनमै नतिजा आउने विश्वास व्यक्त गरे ।
‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने, ‘यसतर्फ धेरै कुराहरू भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्ट पनि आउने म विश्वास व्यक्त गर्न चाहन्छु ।’















