२०८२ पुष १३ गते, आईतवार १९:१२

छोरा यशलाई जोगाउन टेमानीले गरेको प्रपञ्च फेल: सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश

५ दिनको म्याद थप

वीरगन्ज-

वीरगन्जका चर्चित उद्योगपति अशोक टेमानीका छोरा यश अग्रवाल (टेमानी) माथि बारा प्रहरीले सवारी ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं. ३२ निवासी रामबालक सहनीलाई कारले ठक्कर दिई मृत्यु भएको अभियोगमा पक्राउ परेका अग्रवालमाथि इलाका प्रहरी कार्यालय जितपुर सिमराले कानुनी प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरी नियन्त्रणमा रहेका अग्रवाललाई हिरासतमा राखी अनुसन्धान गर्न बारा जिल्ला अदालतले शुक्रबार पहिलो पटकका लागि ५ दिनको म्याद थप गरेको छ ।

इलाका प्रहरी कार्यालय जितपुर सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक  बेद जोशीका अनुसार गत बुधबार (पुस ९ गते) साँझ जितपुर सिमरा उपमहानगरपालिकाको केराढोकास्थित सडक खण्डमा अग्रवालले चलाएको बा ०१-०३३ च २४८१ नम्बरको कारले ठक्कर दिँदा सहनीको मृत्यु भएको थियो । उक्त घटनामा चालकको लापरवाही र संलग्नुताबारे थप स्पष्ट हुन अदालतबाट म्याद लिइएको उनले बताए ।

डिएसपी जोशीले घटनासँग सम्बन्धित प्रमाणहरू जुटाउने कार्य भइरहेको जानकारी दिँदै घटनास्थलका प्रत्यक्षदर्शीको बयान र सीसीटीभी फुटेजहरू संकलन भइरहेको बताए । दुर्घटनाका बेला कारमा सवार रहेका अग्रवालका तीन जना साथीहरूलाई समेत बयानका लागि प्रहरी कार्यालयमा झिकाउने तयारी गरिएको छ ।

के थियो घटना?

गत पुस ९ गते साँझ जितपुर सिमराको केराढोकास्थित सडक खण्डमा तीव्र गतिमा रहेको अग्रवालको कारले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका साइकल सवार रामबालक सहनीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका सहनीको सोही दिन उपचारका क्रममा मृत्यु भयो । दुर्घटनालगत्तै स्थानीयले चालक अग्रवाल र कारमा सवार उनका साथीहरूलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

छोरा जोगाउन टेमानीले गरेको प्रपञ्च विफल

अत्यन्त गरिब परिवारका मृतक सहनीका आफन्तलाई आर्थिक प्रलोभन देखाई मुद्दा मिलापत्रमा टुङ्ग्याउने उद्योगपति अशोक टेमानीको प्रयास विफल भएको छ । मृतकका भाइ नगिना सहनी महल्हा र साला राजेन्द्र सहनीलाई मुद्दा मामिला नगर्ने सर्तमा ९ लाख ५० हजार रुपैयाँ दिने मौखिक सहमति शुक्रबार गरिएको थियो । तर, प्रहरीले सोही दिन अग्रवाललाई अदालतमा उपस्थित गराई सवारी ज्यान मुद्दामा म्याद बुझेपछि टेमानीको उक्त प्रपञ्च असफल भएको हो ।

डिएसपी बेद जोशीले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा त्यो सरकारवादी मुद्दा हुने भएकाले मिलापत्रको कुनै कानुनी गुञ्जायस नहुने प्रष्ट पारेका छन् । उनले भने, “सवारी दुर्घटनामा कसैको ज्यान गएपछि वादी र प्रतिवादी मिले पनि अभियुक्त थुनामुक्त हुँदैनन् । यो सरकारवादी मुद्दा हो, अदालतले नै सफाई दिए मात्र उनी छुट्ने बाटो रहन्छ ।”

प्रारम्भिक अनुसन्धानको निष्कर्ष

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवाकर बस्नेतका अनुसार घटनास्थलको प्रकृति हेर्दा सहनीले जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला कारले ठक्कर दिएको देखिएको छ । घटनास्थलमा कारको गति ५० देखि ६०   किलोमिटर भन्दा अधिक  रहेको अनुमान गरिएको छ । चालक अग्रवालले पनि आफ्नो बयानमा गाडि आफैले चलाएको र  कार ५० किलोमिटरको गतिमा रहेको स्वीकार गरेका छन् । तीव्र गतिका कारण चालकले कारलाई समयमै नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक प्रमाणहरूले संकेत गरेका छन् ।

पोडकास्ट सुन्नुहोस