२०८२ पुष १४ गते, सोमबार १६:५३

जसपा नेपालमा एकताको सन्देश: रेणु र प्रदीपको समूहले स्विकार्‍यो उपेन्द्र यादवको नेतृत्व

काठमाडौँ-

जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिमा नयाँ मोड आएको छ। जसपाकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले आफ्नो समूहसहित उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गरेका छन्। आज (आइतबार) दुवै पक्षबीच पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएसँगै उनीहरू पुनः एकै ठाउँमा उभिएका हुन्।

पार्टी एकताका लागि भएको सहमतिपत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाकी सहअध्यक्ष रेणु यादवले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा भनिएको छ, ‘मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सह-अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो।’

रेणु यादव र प्रदीप यादव एक्लै नभई आफ्नो समूहका बहुमत केन्द्रीय सदस्यहरूलाई लिएर जसपा नेपालमा फर्किएका हुन्। यसअघि पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्ष र विभाजनका कारण फरक समूहमा रहेका उनीहरूले अन्ततः उपेन्द्र यादवकै नेतृत्वलाई स्वीकार गर्दै एकताको बाटो रोजेका छन्।

यो एकतासँगै जसपा नेपाल थप बलियो भएको र यसले मधेश प्रदेशको राजनीतिमा पनि ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ। लोसपा र जसपाबीचको एकताको भावनालाई आत्मसात् गर्दै अघि बढ्ने उनीहरूले बताएका छन्। यसअघि उनीहरूले पार्टी परित्याग गरी नयाँ धारको वकालत गर्दै आएका थिए।

सहमतिपत्रमा हस्ताक्षर गरेपछि अब दुवै पक्षको साङ्गठनिक संरचनालाई कसरी समायोजन गर्ने भन्ने विषयमा आगामी बैठकहरूले निर्णय गर्ने बताइएको छ।

पोडकास्ट सुन्नुहोस