२०८२ पुष २३ गते, बुधबार १४:०३

सरकारी पेस्तोल हरायो, प्रहरी घेरामा प्रहरी नै ! १२ जनामाथि अनुसन्धान, बयानमा विरोधाभास

वीरगन्ज –
मधेश प्रदेशको सुरक्षा संयन्त्रभित्रै गम्भीर लापरवाही र रहस्यको कालो छायाँ देखिएको छ । नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) को साथबाट सरकारी पेस्तोल रहस्यमय रूपमा हराएपछि प्रहरी संगठन नै असहज अवस्थामा परेको छ ।

बाराको इलाका प्रहरी कार्यालय (इप्रका) कबहीमा कार्यरत सई सोनुकुमार मिश्र ले बोकेको ९ एमएमको सरकारी पेस्तोल हराएको घटनाले प्रहरी वृत्तमा हलचल मच्चाएको छ । घटना गम्भीर बन्दै गएपछि सोही कार्यालयमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्म १२ जना प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले असामान्य कदम चाल्दै कबहीका सम्पूर्ण प्रहरीलाई जनकपुरधाम झिकाएर अलग–अलग राखी गहन सोधपुछ थालेको छ । कार्यालय नै खाली भएपछि त्यहाँ अस्थायी प्रहरी टोली खटाइएको छ, जसले घटनाको गम्भीरता झन् उजागर गरेको छ ।

बयानमै दोहोरो कुरा, शंका झन् गहिरिँदै

प्रारम्भिक बयानमा सई मिश्रले राति गस्ती गर्ने क्रममा पेस्तोल हराएको बताएका छन् । तर, पछि उनले ब्यारेकबाटै हतियार हराएको हुन सक्ने अर्को बयान दिएको प्रदेश प्रहरी स्रोतले जनाएको छ ।
एकै घटनाबारे फरक–फरक बयान आउनुले घटनालाई अझै रहस्यमय र शंकास्पद बनाएको छ ।

छानबिन समिति गठन, कसैलाई उन्मुक्ति छैन

घटना पुस ११ गते नै जानकारीमा आएपछि मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको निर्देशनमा एसपी भेषराज रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो । पुस १५ गते गठन भएको समितिले प्रारम्भिक अध्ययन सकेर थप अनुसन्धानका लागि सबै प्रहरीलाई प्रदेश कार्यालय झिकाएको हो ।

छानबिन समितिका संयोजक एसपी रिजालले दोषी देखिने जो–कोहीलाई पनि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन् ।

तस्करको हातमा हतियार पुग्यो कि ?

सीमावर्ती क्षेत्र भएकाले तस्कर समूह सक्रिय रहेको र ड्युटीकै क्रममा हतियार खोसिएको वा गलत हातमा पुगेको हुन सक्ने आशंकाबाट पनि अनुसन्धान अघि बढाइएको छ ।

सरकारी हतियार नै सुरक्षित नरहनु, त्यो पनि प्रहरीकै हातबाट हराउनुले सुरक्षा संयन्त्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
अब प्रश्न उठेको छ—
पेस्तोल कहाँ गयो ?
लापरवाही हो कि योजनाबद्ध खेल ?
चोर बाहिर छ कि भित्रै ?

यसको उत्तर छानबिनले दिनेछ, तर अहिले प्रहरी स्वयं कठघरामा उभिएको छ ।

पोडकास्ट सुन्नुहोस