२०८३ बैशाख २० गते, आईतवार ०३:३०

पर्सामा १० लाखसहित तीन जना हुण्डी कारोबारी पक्राउ, अनुसन्धानका लागि सात दिनको म्याद थप

वीरगन्ज-

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको जगरनाथपुरबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ४ देवरवाना बस्ने २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी र १९ वर्षीय रामपुकार पासवान रहेका छन्। प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको कुल  दश लाख दुई हजार दश रुपैयाँ बरामद गरेको छ। साथै, उनीहरूले प्रयोग गरेको ना. १६ प ३०२० नम्बरको  स्प्लेन्डर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी टोलीले उनीहरूलाई शुक्रवार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ३ गडैयाटोल स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो। उनीहरूले सो रकम अवैध हुण्डी कारोबारका लागि बोकेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

पक्राउ परेका तीनै जना विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरूलाई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ (सात) दिनको म्याद थप अनुमति लिई कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

पछिल्लो समय पर्सामा अवैध वित्तीय कारोबार र हुण्डी नियन्त्रणका लागि प्रहरीले आफ्नो सक्रियता र निगरानी बढाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस