वीरगन्ज-
विगत केही दिनदेखि वीरगन्जमा भइरहेका गतिविधि र एक समुदायले अर्को समुदायमाथि लगाएको आरोपको विरोधमा हिन्दू युवाहरूले आइतबार वीरगन्जमा मोटरसाइकल र्याली निकालेका छन्। वीरगन्जको बसपार्कबाट सुरु भएको सो र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।
र्यालीमा सहभागी युवाहरूले कुनै पनि ठोस प्रमाण र सबुतबिना अर्को धर्ममाथि आरोप लगाउनु अत्यन्त अनुचित र निन्दनीय रहेको बताएका छन्। विरोध सभालाई सम्बोधन गर्दै एक सहभागी युवाले भने, “कहाँ के भयो त्यसको छानबिन प्रहरीले गरिरहेको छ। तर सुनियोजित रूपमा हिन्दूहरूलाई बदनाम गर्ने कार्य मुस्लिम समुदायले गरेको छ, जुन गलत छ।”
प्रदर्शनकारीहरूले विरोध गर्ने अधिकार सबैलाई भए पनि विरोधको नाममा सहरमा अशान्ति मच्चाउने, टायर बालेर सहर धुवाँमय बनाउने र प्रहरी बिटमाथि आक्रमण गर्ने कार्य कुनै पनि बहानामा स्वीकार्य नहुने चेतावनी दिएका छन्। “हामी कसैको विरोधको विरुद्धमा होइनौँ, तर कुनै जातिमाथि झुटा आरोप लगाएर वीरगन्जलाई जलाउन पाइँदैन,” वक्ताहरूले आक्रोश पोखे।
संयम अपनाउन अपिल युवाहरूले दोषी जो भए पनि उसले निन्दनीय कार्य गरेको र आफूहरू पनि त्यस्ता गलत कार्यको विरोधी रहेको प्रष्ट पारे। यद्यपि, अनुसन्धान भइरहेको विषयमा उत्तेजना फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने कार्य नगर्न उनीहरूले प्रशासन र सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।
प्रशासनले भने सामाजिक सञ्जाल र सडकमा हुने दुवै प्रकारका उच्छृङ्खल गतिविधिमाथि कडा निगरानी राखिएको जनाएको छ।















