काठमाडौं –
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेद्वार छनोटको प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ ।
उहाँले बुधवार पार्टी कार्यलय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरित उम्मेद्वार छनौट गरिएको बताउनु भयो । पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जना व्यक्तिको नाम टुंग्याइएको उहाँको आरोप छ । उहाँले यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय सभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समयसम्म बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै नभएको उहाँले बताउनु भयो । उहाँले ६०–४० को भागबण्डाका आधारमा उम्मेद्वार छनौट गरिएको पनि आरोप लगाउनु भयो । नौ जनाको सूचिमा आदिवासी जनजातिको प्रतिनिधित्व नहुनु दुःखद् भएको उहाँको भनाई छ । नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले प्रक्रियागत छलफल नै नगरी सूचि प्रश्तुत गरिनु लोकतान्त्रिक अभ्यास नभएको उहाँको भनाई छ । उहाँले पार्टीको निर्णयप्रति असहमति राखेको जनाउनु भयो ।















