२०८२ माघ १६ गते, शुक्रबार १९:०३

कोशी लोकमार्गमा भयावह पल : धनकुटामा बस सडकबाट खस्यो, ६ जना घाइते

धनकुटा –

कोशी लोकमार्गमा आज बिहान भएको बस दुर्घटनाले यात्रुहरूबीच त्रास फैलिएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा तेह्रथुमको लालिगुँरास नगरपालिका–२ का ५३ वर्षीय रेवान्तकुमार कामी, २३ वर्षीय रविन लिम्बू, २२ वर्षीय राज लिम्बू, धनकुटा छथर जोरपाटी गाउँपालिका–५ की २८ वर्षीया मुना रुचाल, उनका ५ वर्षीय छोरा निक्खि रुचाल तथा सुनसरी धरान उपमहानगरपालिका–५ की ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका छन् ।

धनकुटा प्रहरीका प्रवक्ता ज्ञानकुमार महतोका अनुसार बसमा १५ जना यात्रु सवार थिए, जसमध्ये ६ जना घाइते भएका हुन् । घाइतेहरूको तत्काल उद्धार गरी धनकुटा नगरपालिका–१ स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचारका लागि पठाइएको छ ।

बस चालक सुनसरीको धरान उपमहानगरपालिका–७ का ४५ वर्षीय विष्णु थापा प्रहरी चौकी हिलेको नियन्त्रणमा रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोडकास्ट सुन्नुहोस