२०८२ माघ १६ गते, शुक्रबार १८:४३

जुनपार्टीबाट टिकट पाउँ त्यहीपार्टीमा जान्छः बसरुदिन अंसारी

वीरगन्ज–

काठमाडौंस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक तथा नेकपा एमालेका नेता बसरुदिन अंसारीले अब नेकपा एमाले छाडेर अन्य पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेका छन्।

उनी नेकपा एमालेबाट वीरगन्ज महानगरपालिकाको नगर प्रमुख (मेयर) उम्मेदवार बन्ने सम्भावना नभएपछि पार्टी परित्याग गरी अन्य पार्टीबाट चुनाव लड्ने योजना बनाइरहेको जानकारी प्राप्त भएको हो। अंसारीले गोप्यखबर संग कुरा गर्दै बताए, “कुनै पार्टीले टिकट दिए पनि नदिए पनि म वीरगन्ज महानगरपालिकाको मेयर पदमा चुनाव लड्ने निश्चित निर्णय गरेको छु।”

उहाँले थपे कि विभिन्न दलका नेताहरूसँग छलफल भइरहेको छ र टिकट दिने सहमति मिल्नासाथ सम्बन्धित पार्टीमा प्रवेश गरी चुनाव लड्ने योजना छ। यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायत अन्य दलहरूसँग पनि कुरा भैरहेको छ।

बसरुदिन अंसारी नेकपा एमालेको टिकटमा २०७४ सालको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको प्रमुख पदका लागि चुनाव लडेका थिए।

पार्टी परिवर्तनको विषयमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्बर शर्मासँग सम्पर्क गर्दा उनले बताए, “अंसारी यसपालि प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. १ बाट टिकटका लागि दावेदारी गरेका थिए। तर अन्य पार्टीबाट एमाले प्रवेश गरेका उम्मेदवारलाई टिकट दिइएको कारण उनी असन्तुष्ट हुन सक्छन्। वीरगन्ज महानगरपालिकाको मेयर पदमा एमालेमा पहिले देखि (विजय कुमार सरावगी र राजेशमान सिंह) दुई जना दावेदार रहेका छन्। अंसारीले पनि टिकट पाउनुपर्ने इच्छा राखेका थिए, तर पार्टीले उनलाई टिकट दिन नसक्ने स्पष्ट गरिसकेको छ।”

डा. शर्मा अनुसार, “अंसारी पार्टी छाडे पनि एमालेलाई फरक पर्दैन, तर उनलाई मेयरको टिकट दिन सकिँदैन भन्ने कुरा स्पष्ट पारिसकिएको छ। उनी चाहेपनि आफ्नो निर्णय लिन स्वतन्त्र छन्।”

पोडकास्ट सुन्नुहोस