२०८२ माघ २८ गते, बुधबार १५:२३

जसपा उम्मेदवार यादवको घरदैलो अभियान तीव्र

वीरगन्ज।
पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामनरेश यादवले आज वीरगन्जको सवैठवा क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै चुनाव प्रचारलाई तीव्र बनाएका छन्।

वीरगन्ज महानगरपालिका वडा नं. २३ का मतदाताहरूको घरदैलोमै बिहान पुगेका उम्मेदवार यादवसहित पार्टीका नेता–कार्यकर्ताले  जसपाको चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न आग्रह गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार यादवले मधेस आन्दोलनको नेतृत्व गरेको जसपालाई मतदान गर्ने आश्वासन आम मतदाताबाट पाएको बताए। अघिल्ला निर्वाचनमा मत दिएका उम्मेदवार पार्टी परिवर्तन गरेकोप्रति मतदाताले असन्तुष्टि व्यक्त गरे पनि मधेसी पहिचान र अधिकारका लागि जसपाका उम्मेदवारलाई नै समर्थन गर्ने मतदाताको धारणा रहेको उनले उल्लेख गरे।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु रागत गद्दी, सदस्य शशिकपुर मियाँ, श्यामबाबु चौरसिया, सुधिरनाथ पाण्डे, रेखा सह, जिल्ला सचिव रितेश गुप्ता, जिल्ला कार्यसमिति सदस्य सुनील शर्मा, महानगर अध्यक्ष धनश्यामबाबु गुप्ता, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानुलगायत पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस