रामेछाप –
मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनाकै पहिचान खुलेको छ।
मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्।
घाइतेमध्ये ७ जनाको धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ।
तर बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारसँग क्षतिपूर्ति तथा अन्य मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया हालसम्म अगाडि बढ्न सकेको छैन। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।













