पर्सा-
पर्साको टेंढामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रभाव विस्तार गर्दै विशाल पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। रास्वपा पर्साका सभापति एवं उम्मेदवार हरि पन्तको समर्थनमा टेंढावासीको ठूलो समूह सडकमा उत्रिएपछि स्थानीय राजनीतिमा नयाँ तरंग पैदा भएको छ।
विभिन्न राजनीतिक दल परित्याग गरी ५०० भन्दा बढी स्थानीय बासिन्दाहरू “देशले परिवर्तन खोजेको” भन्दै रास्वपामा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूले पुराना दलहरूबाट जनताको आशा पूरा हुन नसकेको र अबको भरोसा केवल राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै रहेको बताएका थिए।
नवप्रवेशीहरूलाई स्वागत गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले अबको सरकार रास्वपाले बहुमतका साथ बनाउने दाबी गरे। सम्बोधनका क्रममा उनले भने, “जेन्जी (Gen-Z) विद्रोहद्वारा विस्थापित तत्कालीन सरकारमा रहेका पार्टीहरू नै मुलुकको समृद्धि र विकासका बाधक हुन्। अब जनताले त्यतातिर सोच्ने छैनन्, त्यसैले हाम्रो जित सुनिश्चित छ।”
विशाल कुशवाहाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा टेंढाका भद्रभलाद्मीहरू साकिर हुसेन, अबुलेश हुसेन लगायतको विशेष उपस्थिति रहेको थियो।
साथै, कार्यक्रमलाई रास्वपा नेताहरू सगिर आलम, पूर्ण सापकोटा, मनिष यादव, कमला भुजेल र चन्दन यादव लगायतले सम्बोधन गर्दै देश निर्माणका लागि नयाँ शक्तिको आवश्यकतामा जोड दिएका थिए।













