वीरगन्ज –
आस्था र लोकपर्वको रूपमा चिनिने चैती छठ पर्व अन्तर्गत आज दोस्रो दिन देशभरका श्रद्धालुहरूले ‘खरना’ विधि सम्पन्न गर्दैछन्। आइतबार ‘नहाय-खाय’ बाट विधिवत रूपमा सुरु भएको यो चार दिने अनुष्ठानको आज महत्वपूर्ण दिन हो।
चैत शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् आजको दिनलाई ‘खरना’ भनिन्छ। आजको दिन व्रतालुहरू दिनभरि निराहार उपवास बस्छन्। साँझपख चन्द्रोदयपछि शुद्ध दूध, चामल र सख्खर हालेर पकाइएको खीर (रसियाव), रोटी र केरासहितका विभिन्न फलफूल र मिठाईहरूले छठी माता र कुल देवताको पूजा गर्ने गरिन्छ। पूजा सम्पन्न भएपछि व्रतालुहरूले सोही सामग्री प्रसादका रूपमा ग्रहण गर्नेछन् र घरपरिवारका अन्य सदस्यहरूलाई पनि प्रसाद वितरण गरिनेछ।
आजको खरना विधि सम्पन्न भएसँगै व्रतालुहरूको ३६ घण्टा लामो कठिन र निराहार व्रत सुरु हुन्छ। विशेष गरी मधेश प्रदेशका वीरगञ्ज लगायतका विभिन्न स्थानमा चैती छठको विशेष उल्लास देखिएको छ। जलाशयहरू, पोखरी र नदी किनारका छठ घाटहरूलाई स्थानीयहरूले सरसफाइ गरी झिलिमिली बत्ती र ध्वजापताकाले सजाउन व्यस्त रहेका छन्।
पर्वको तेस्रो दिन अर्थात् भोलि मङ्गलबार षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई पहिलो अर्घ (सझिया घाट) दिइनेछ भने पर्सि बुधबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ (भोरवा घाट) दिएपछि यो महान् पर्व विधिवत रूपमा समापन हुनेछ।
वर्षमा दुई पटक कात्तिक र चैत महिनामा मनाइने छठ पर्वलाई शुद्धता, निष्ठा र कठिन तपस्याको प्रतीकका रूपमा लिइन्छ। सूर्य उपासनाको यस पर्वले प्रकृति र मानवबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने धार्मिक विश्वास रहिआएको छ।













