२०८२ चैत्र २३ गते, सोमबार ११:३३

मलंगवामा बिचौलियाविरुद्ध कडाइ, मालपोत र ट्रायल सेन्टरबाट ९ जना रंगेहात पक्राउ

सर्लाही –

सेवाग्राहीलाई दुःख दिँदै अतिरिक्त रकम असुल्ने बिचौलियाविरुद्ध सर्लाहीमा प्रहरीले कडा कदम चालेको छ । सदरमुकाम मलंगवास्थित मालपोत कार्यालय र यातायात कार्यालयको ट्रायल सेन्टरबाट ९ जना बिचौलिया एकैपटक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४:५० बजे मलंगवा नगरपालिका-९ मा रहेको ट्रायल सेन्टर र मालपोत कार्यालय परिसरमा विशेष निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका निमित्त प्रवक्ता बिन्देश्वर यादव का अनुसार ट्रायल सेन्टरबाट मलंगवा-६ का २७ वर्षीय जय प्रकाश साह र मलंगवा-८ का २० वर्षीय रबी साह पक्राउ परेका छन् ।

त्यसैगरी मालपोत कार्यालय परिसरबाट हरिपुर्वा-६ का प्रमोद कुमार यादव, मलंगवा-१ का नन्द किशोर यादव, ब्रह्मपुरी-७ का नागेन्द्र यादव, चन्द्रनगर-१ का रामबिनय राय, कबिलासी-१ का रञ्जन कुमार ठाकुर, चक्रघट्टा-२ का प्रमोद साह र ईश्वरपुर-५ का योगेन्द्र महतो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू सेवाग्राहीसँग काम छिटो गरिदिने बहानामा अतिरिक्त रकम माग्दै प्रक्रियामा अवरोध सिर्जना गरिरहेका थिए । लामो समयदेखि बिचौलियाको चलखेलबारे गुनासो बढेपछि प्रहरीले निगरानी बढाएर कारबाही थालेको हो ।

घटनाले सार्वजनिक सेवामा हुने अनियमितता नियन्त्रणतर्फ प्रहरी सक्रिय भएको सन्देश दिएको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पोडकास्ट सुन्नुहोस