२०८३ बैशाख ३ गते, बिहीबार १७:५०

राजमार्गमा भारतीय सवारीसँग उठाइने गैरकानुनी कर बन्द: सांसदको सक्रियता र उद्योग वाणिज्य संघको स्वागत

वीरगन्ज-

वीरगन्ज भन्सारको मुलगेट र आसपासका राजमार्गहरूमा भारतीय सवारी साधनहरूबाट वर्षौँदेखि गैरकानुनी रूपमा असुल गरिँदै आएको ‘सवारी कर’ अन्ततः बन्द भएको छ। पर्सा क्षेत्र नम्बर १ का माननीय सांसद हरीपन्तले देखाउनुभएको विशेष सक्रियता, इमानदारी र तदारुकताका कारण उक्त कर असुली रोकिएपछि वीरगन्ज उद्योग वाणिज्य संघले यस कदमको स्वागत गरेको हो।

स्थानीय सरकारले कानुनी प्रावधान विपरीत राजमार्ग र सहायक राजमार्गहरूमा भारतीय गाडीहरूसँग असुल गर्दै आएको करले यहाँको व्यापारिक वातावरण र छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धमा समेत नकारात्मक असर पुर्‍याइरहेको थियो। उक्त गैरकानुनी कार्यलाई पूर्ण रूपमा बन्द गराउन सांसदले संघीय सरकार र सम्बन्धित निकायमा निरन्तर दबाब सृजना गर्नुका साथै स्थानीय स्तरमा प्रभावकारी पहलकदमी लिनुभएको थियो।

संघको माग र सरकारी पहल

यसअघि वीरगन्ज उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गर्दै वर्षौँदेखि भारतीय सवारी साधनहरूबाट गैरकानुनी रूपमा कर उठाउँदै आएकोमा कडा आपत्ति जनाएको थियो। गत फागुनमा सम्पन्न आम निर्वाचनपछि गठित नयाँ सरकारले सो गैरकानुनी कर हटाउन पहल सुरु गरेपछि संघले त्यसको स्वागत समेत गरेको थियो।

संघले विज्ञप्ति मार्फत भनेको थियो, “संघीय सरकारको अथक प्रयासका बाबजुद पनि स्थानीय सरकारले सो सवारी कर नउठाउन आलटाल गरिरहेको र स्थानीय सरकार तथा प्रशासनबीच आवश्यक समन्वय हुन नसकेको देखिएकोले यस्ता गैरकानुनी कार्य तत्काल रोक्न संघ सरकारका सबै निकायसँग जोडदार माग गर्दछौँ।”

व्यापार र सम्बन्धमा सुधारको अपेक्षा

भारतीय सवारी साधनबाट उठाइने यस्तो करले द्विपक्षीय व्यापार र सम्बन्धमा नकारात्मक असर पार्ने भन्दै संघले कानुनी राज्यको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउँदै आएको थियो। सांसदको पछिल्लो सक्रियतापछि यो समस्या समाधानको दिशामा गएको छ। यसबाट आर्थिक नगरी वीरगञ्जको गरिमा उच्च रहने, पर्यटन र व्यापारमा सकारात्मक प्रभाव पर्ने तथा व्यवसायीहरूलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।


सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस