२०८३ बैशाख १६ गते, बुधबार १४:०६

स्थानिय तह निर्वाचनको तयारीमा जुटयो रास्वपा

काठमाडौँ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियामा नयाँ प्रयोग गर्ने तयारी थालेको छ। पार्टीले यसपटक परम्परागत शैलीभन्दा फरक बाटो रोज्दै देशभरका आफ्ना निर्वाचन क्षेत्र समितिहरूबाट प्रत्यक्ष सुझाव संकलन सुरु गरेको हो।

वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह-महामन्त्री विपिनकुमार आचार्य को संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो। त्यसैको निरन्तरता स्वरूप वैशाख १४ गते बसेको समितिको बैठकले सबै क्षेत्रीय संरचनाबाट व्यवहारिक सुझाव जुटाउने निर्णय गरेको हो।

पार्टी सचिव आरके ढुङ्गाना द्वारा जारी परिपत्रमा प्रत्येक निर्वाचन क्षेत्र समितिलाई आ–आफ्नो तहमा गहिरो छलफल गरी वस्तुनिष्ठ, कार्यान्वयन योग्य र जनभावनासँग मेल खाने सुझाव पठाउन निर्देशन दिइएको छ।

रास्वपाले अघिल्लो संघीय निर्वाचनबाट हासिल गरेको अनुभव र सिकाइलाई आधार बनाउँदै यसपटक उम्मेदवार छनोट प्रक्रियालाई अझ वैज्ञानिक, पारदर्शी र जनमुखी बनाउने लक्ष्य राखेको जनाएको छ। पार्टीभित्र योग्य, सक्षम र लोकप्रिय व्यक्तिहरूलाई प्राथमिकता दिने रणनीतिसहित अघि बढिएको संकेत पनि यस कदमले दिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस