२०८३ बैशाख १६ गते, बुधबार १४:२२

सरकारको निर्णयविरुद्ध गोकुलगंगा गाउँपालिकाले आइतबार पनि कार्यालय र विद्यालय खोल्ने

रामेछाप-

गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारको ‘शनिबार-आइतबार दुई दिन बिदा’ नीति व्यवहारिक नभएको ठहर गर्दै आफ्नै शैलीमा अघि बढ्ने निर्णय गरेको छ। अब यहाँ आइतबार पनि सरकारी कार्यालयदेखि विद्यालयसम्म नियमित रूपमा सञ्चालन हुनेछन्।

वैशाख १५ गते बसेको गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गर्दै वैशाख १६ गतेदेखि गाउँपालिका मातहतका सबै कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू आइतबारसमेत खुला राख्ने जनाएको हो। सेवाग्राहीलाई सहजता दिन कार्यालयहरू बिहान १० बजेदेखि नियमित रूपमा सञ्चालन गरिनेछ।

गाउँपालिकाको तर्क स्पष्ट छ । हप्तामा दुई दिन बिदा हुँदा विद्यालयको वार्षिक पाठ्यघण्टा पूरा गर्न कठिन हुने र यसले शिक्षाको गुणस्तरमै असर पार्ने जोखिम बढ्छ। त्यसमाथि, यहाँको भौगोलिक अवस्था र न्यून इन्धन खपतका कारण ‘इन्धन बचत’को आधार पनि सान्दर्भिक नदेखिएको जनाइएको छ।

स्वास्थ्य सेवाको पक्ष अझ संवेदनशील रहेको भन्दै आइतबार स्वास्थ्य संस्था बन्द गर्दा दुर्गम बस्तीका बिरामी उपचारबाट वञ्चित हुने खतरा औँल्याइएको छ। आकस्मिक सेवा प्रभावित हुन सक्ने भएकाले निरन्तर सेवा सञ्चालनलाई प्राथमिकता दिइएको गाउँपालिकाको भनाइ छ।

निर्णयअनुसार गाउँपालिका तथा वडा कार्यालयहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म, विद्यालयहरू बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछन् भने शुक्रबार छोटो समय बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा प्रवाह हुनेछ।

गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का ले कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई निर्णय कार्यान्वयनमा सहयोग गर्न अपिल गरेका छन्। स्थानीय आवश्यकतालाई केन्द्रमा राख्दै गरिएको यो निर्णयले संघीय नीतिमाथि बहस चर्काउने संकेत पनि दिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस