वीरगन्ज –
इन्धनको मूल्य आकासिँदै जाँदा त्यसको सीधा मार अब आम उपभोक्ताले बेहोर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभाग ले अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने निर्णय लागू गरेसँगै यात्रु र व्यवसायी दुवैमा असर देखिन थालेको छ ।तर सबैभन्दा बढी दबाब भने यात्रुमाथि परेको छ।
वैशाख १६ गतेदेखि लागू भएको नयाँ दरअनुसार लामो दूरीका बस, मिनीबस तथा मालवाहक सवारीको भाडा बढाइएको छ। विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा ‘वैज्ञानिक भाडा समायोजन प्रणाली’ अनुसार मूल्य बढाएको दाबी गरे पनि दैनिक यात्रा गर्ने सर्वसाधारणका लागि यो निर्णय झन् भारी सावित हुँदैछ।
भाडा वृद्धिको मूल कारण डिजेलको मूल्यमा भएको तीव्र वृद्धि हो। केही समयअघिसम्म प्रतिलिटर करिब १८० रुपैयाँ रहेको डिजेल अहिले झन्डै २३६ रुपैयाँ पुगेको छ । करिब ३० प्रतिशतभन्दा बढीको उछाल। यही आधारमा यात्रुवाहक सवारीको भाडा ५.३ प्रतिशतले बढाइएको छ भने मालवाहक सवारीमा पहाडी क्षेत्रमा ७.७ प्रतिशत र तराईमा ९.१ प्रतिशतसम्म वृद्धि गरिएको छ।
यसको प्रत्यक्ष असर के ?
लामो दूरी यात्रा महँगो, दैनिक खर्च बढ्दो, र बजारमा सामानको मूल्यसमेत चर्किने संकेत। ढुवानी खर्च बढेपछि खाद्यान्नदेखि लत्ताकपडासम्मको मूल्य बढ्ने सम्भावना उच्च देखिएको छ। अर्थात्, यात्रु मात्र होइन,पूरै उपभोक्ता श्रृंखला प्रभावित हुने अवस्था बनेको छ।
यद्यपि, विभागले दुई वा बढी प्रदेश जोड्ने रुटहरूमा मात्र यो निर्णय लागू हुने स्पष्ट पारेको छ। साथै, विद्युतीय सवारीमा भने पुरानै भाडादर कायम राखिएको छ, जसले केही राहत दिने संकेत गरे पनि त्यस्ता सवारीको पहुँच अझै सीमित भएकाले आम नागरिकलाई तत्काल राहत मिल्ने अवस्था छैन।
समग्रमा, ‘वैज्ञानिक समायोजन’को नाममा गरिएको यो निर्णयले उपभोक्ताको भान्सादेखि यात्रासम्मको खर्च बढाउने निश्चित देखिएको छ , र आम नागरिकको जेबमा थप भार थपिएको छ।











