२०८३ बैशाख १६ गते, बुधबार १६:३०

वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन शून्य

वीरगन्ज-

देशको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन आज शून्य भएको छ ।

दैनिक ५० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको वीरगन्ज भन्सार कार्यालयमा बुधबार दिउँसो २ बजेसम्म कुनै पनि राजस्व संकलन हुन नसकेको हो । भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार हिजो (मंगलबार) मात्रै ३५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने आज बिहानैदेखि व्यापारीहरूले मालसामान जाँचपास नगराउँदा दिउँसो २ बजेसम्म राजस्व संकलन शून्य रहेको हो ।

नेपालमा आयात तथा निर्यात हुने वस्तुहरूको लेबलमा उत्पादन मिति, समाप्ति मिति, तौल वा परिमाण तथा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णयको विरोधमा व्यवसायीहरूले कारोबार रोकेका छन् । सूचना अधिकारी विष्टका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार सरकारले बैशाख १ गतेदेखि एमआरपी अनिवार्य गरेपछि व्यवसायीहरूले विरोध जनाउँदै आएका हुन् । सोमबारदेखि नै कारोबार घटाउँदै आएका व्यापारीहरूले आज बिहानदेखि भने पूर्ण रूपमा कारोबार ठप्प पारेका छन् ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ मा एमआरपी अनिवार्य गरिएको छ भने सो व्यवस्था उल्लंघन गरेमा दफा ३९ अनुसार २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ ।

नेपाली बजारमा बिक्री हुने वस्तुहरूमा एमआरपी नहुँदा व्यापारीहरूले उपभोक्तासँग मनपरी मूल्य असुल्ने गरेको गुनासो बढ्दै गएपछि सरकारले मूल्यमा एकरूपता कायम गर्न र उपभोक्तालाई ठगीबाट जोगाउन एमआरपी अनिवार्य गरेको हो ।

तर, मोटो मुनाफा कमाउँदै आएका व्यापारीहरूले सरकारले लागू गरेको एमआरपी व्यवस्थाको विरोध गर्दै आएका छन् । साथै, उनीहरूले विदेशबाट आयात हुने वस्तुहरूको आयातसमेत प्रभावित पारेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले गरेको एमआरपी अनिवार्य गर्ने निर्णयको विरोध जनाएका छन् ।

यसैबीच, स्थानीय उपभोक्ताहरूले एमआरपी नहुँदा व्यापारीहरूले उपभोक्तालाई ठगी गरेको आरोप लगाएका छन् । वीरगन्ज राधेमाईका स्थानीय सत्रुधन महतोका अनुसार व्यापारीहरूको मनपरीका कारण धेरै उपभोक्ता आवश्यक सामान किन्न भारतको सीमावर्ती बजार रक्सौल जान बाध्य भएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस