२०८३ बैशाख १९ गते, शनिबार २१:५०

वीरगन्जमा मसाज तथा स्पा सेन्टरमा महानगरको आकस्मिक अनुगमन ,नाबालिका प्रयोग भएको भेटियो

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाले नगरभित्र सञ्चालित मसाज तथा स्पा सेन्टरहरूमा आकस्मिक अनुगमन सुरु गरेको छ। मसाज सेन्टरका नाममा अवाञ्छित र गैरकानुनी गतिविधि भइरहेको जनगुनासो बढेपछि महानगरले मंगलबारदेखि यो अभियान थालेको हो।

महानगरका ३२ वटै वडामा विस्तार गर्ने लक्ष्यसहित भन्सार क्षेत्रबाट सुरु गरिएको यस अनुगमनमा नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। अनुगमनका क्रममा हालसम्म एक दर्जनभन्दा बढी स्पा सेन्टरहरूको स्थलगत जाँच भइसकेको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिनुभयो।

दुई स्पामा नाबालिका भेटिए

प्रारम्भिक अनुगमनका क्रममा दुईवटा स्पा सेन्टरमा नाबालिकालाई काममा प्रयोग गरिएको भेटिएको छ। महानगरले नाबालिका प्रयोग गर्ने सञ्चालकलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

अनुगमन टोलीले मुख्यतया निम्न विषयमा केन्द्रित रहेर जाँच गरिरहेको छ:

  • सञ्चालक र कर्मचारीहरूको पूर्ण विवरण।

  • नाबालिकाको प्रयोग भए/नभएको।

  • व्यवसाय दर्ता, सञ्चालन अनुमति र कर भुक्तानीको अवस्था।

  • सेवाको प्रकृति र तोकिएको आचारसंहिताको पालना।

नगर प्रहरी इन्चार्ज भुसालका अनुसार धेरैजसो स्थानमा आवश्यक कागजात अपूर्ण रहेको र सञ्चालन प्रक्रिया तोकिएको मापदण्डअनुसार नभएको पाइएको छ। “हामीले व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन यो कदम चालेका हौँ,” उहाँले भन्नुभयो, “मापदण्ड विपरीत सञ्चालित र गैरकानुनी कार्यमा संलग्न जोकोहीलाई कानुनबमोजिम कारबाही गरिनेछ।”

महानगरपालिकाले आगामी दिनमा पनि यस्तो अनुगमनलाई निरन्तरता दिने जनाएको छ। साथै, आफ्नो टोल-छिमेकमा रहेका स्पा सेन्टरहरूमा कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त महानगर वा प्रहरीलाई जानकारी गराउन नगरवासीलाई आग्रह समेत गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस