२०८३ बैशाख २० गते, आईतवार १७:५६

तस्करी रोक्न सरकार पछि हट्दैन: सभापति लामिछाने

काठमाडौँ-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सीमा क्षेत्रमा हुने संगठित तस्करी नियन्त्रणमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ। सीमा क्षेत्रमा बढाइएको कडाइका कारण केही असन्तुष्टि देखिए पनि राज्यले तस्करीलाई टुलुटुलु हेरेर बस्न नसक्ने उहाँले बताउनुभयो।

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको संवादमा बोल्दै सभापति लामिछानेले सीमावर्ती नागरिकको दैनिक जीवनशैली छिमेकी बजारमा निर्भर रहेको यथार्थलाई सरकारले बुझेको उल्लेख गर्नुभयो। तर, घरायसी किनमेलको बहानामा भइरहेको खुला र संगठित तस्करीले मुलुकको अर्थतन्त्रलाई गम्भीर क्षति पुर्‍याइरहेको उहाँको भनाइ थियो।

“सीमा वारपार गरेर सस्तोमा घरायसी सामान किन्नुलाई जीवनशैलीको हिस्सा मान्न सकिएला, तर त्यसैको आडमा भइरहेको तस्करी स्वीकार्य हुँदैन,” लामिछानेले भन्नुभयो, “तस्करी रोक्न कडा कदम चाल्नु अहिलेको आवश्यकता हो।”

सस्तो विदेशी बजारका कारण सीमावर्ती क्षेत्रका नेपाली व्यवसायीहरू धराशायी भइरहेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले स्वदेशी उद्योग र व्यवसायको संरक्षण गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो। सीमामा गरिएको कडाइका कारण स्थानीय स्तरमा देखिएको असन्तुष्टिप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै उहाँले उपभोक्ताको सहजता र स्वदेशी व्यवसायको हितबीच सन्तुलन कायम गर्ने गरी नीतिमा पुनर्विचार भइरहेको जानकारी दिनुभयो।

लामिछानेले अहिलेको कडाइलाई व्यवस्थापनको एउटा चरणको रूपमा बुझ्न आग्रह गर्दै चाँडै नै जनजीवन र व्यवसाय दुवैलाई सहज बनाउने गरी सन्तुलित नीति ल्याइने संकेत दिनुभयो। “हाम्रो लक्ष्य जनजीवन सहज बनाउनु मात्र होइन, स्वदेशी उद्यम–व्यवसायलाई उकास्नु पनि हो,” उहाँले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस