वीरगन्ज-
वीरगन्जस्थित नेशनल मेडिकल कलेजको आयोजनामा सम्पन्न ‘प्रथम नेशनल इन्टरमेडिकल बेसिक साइन्स क्विज’ प्रतियोगितामा महाराजगञ्ज मेडिकल क्याम्पस (IOM) प्रथम भएको छ । देशभरका ११ वटा मेडिकल कलेजका ६८ विद्यार्थी सहभागी रहेको उक्त प्रतिस्पर्धामा पाटन एकेडेमी अफ हेल्थ साइन्स दोस्रो र बी.पी. कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (बिपीकेआईएचएस) तेस्रो भएका छन् ।
कलेजको आफ्नै सभाहलमा शनिबार आयोजित भव्य समापन समारोहमा विजेताहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद प्राप्त गरेको कलेजका प्रेस सल्लाहकार आंशिक अन्सारीले जानकारी दिए ।
नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले यस्ता बौद्धिक प्रतिस्पर्धाले मेडिकल विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
समारोहमा नेपाली सेनाका प्रमुख सेनानी लोकेन्द्र कार्की, प्रहरी निरीक्षक शैलेन्द्र खड्का, सशस्त्र प्रहरीका डीएसपी लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सफल तुल्याउन कलेजका एकेडेमी निर्देशक डा. रुबी श्रेष्ठ (यास्मिन), मार्केटिङ निर्देशक आविद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल रवि शंकर गुप्ता र डा. बबिता सिंह लगायतको सक्रिय सहभागिता थियो । चिकित्सा शिक्षाको ‘बेसिक साइन्स’ विषयमा केन्द्रित यो प्रतियोगिता नेपालकै मेडिकल कलेजहरूबीचको सम्भवतः पहिलो ठुलो प्राज्ञिक कार्यक्रम भएको आयोजकको दाबी छ ।











