काठमाडौं –
सरकारी छाप र दस्तखतको दुरुपयोग गरेर हुने ठगीका घटना त पहिलेदेखि नै सार्वजनिक हुँदै आएका थिए। तर यसपटक बर्दियामा देखिएको घटना त्यसभन्दा एक कदम अगाडि बढेको देखिन्छ, जहाँ एक दम्पतीले नक्कली सरकारी कार्यालय स्थापना गरेर ठगी गरेको खुलासा भएको छ।
जिल्लाको ठाकुरबाबा नगरपालिका–३ बगनाहा क्षेत्रमा रहेको एक घरलाई आधार बनाएर ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली कार्यालय सञ्चालन गरिएको पाइएको हो। बाहिरबाट हेर्दा सरकारी कार्यालयझैँ देखिने गरी साइनबोर्ड, लेटरप्याड र छापसमेत तयार पारिएको थियो, जसले स्थानीयलाई सहजै भ्रममा पार्ने गरेको अनुसन्धानमा खुलेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत दाङको लमहीमा रहेको वास्तविक ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’सँग मिल्दोजुल्दो नाम प्रयोग गरी नक्कली संरचना खडा गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्न रहेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका-३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरी पक्राउ परेका छन्। उनीहरूले स्थानीयलाई जागिर दिने, कर्मचारी नियुक्त गर्ने तथा ज्यालादारी काममा लगाउने बहानामा ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यसबाहेक, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई भवन विस्तार गर्न लगाई रकम नदिएको आरोपसमेत उनीहरूमाथि छ, जसपछि पीडितको उजुरीका आधारमा प्रहरी अनुसन्धान अघि बढेको थियो।
अनुसन्धानका क्रममा उनीहरूले लामो समयसम्म नक्कली कार्यालयकै आवरणमा विभिन्न व्यक्तिहरूलाई काममा लगाउने र ज्याला नदिने गरेको तथ्य पनि फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दम्पतीमाथि हाल थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।












