तेहरान (एजेन्सी) –
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले आफ्ना पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको छ। परिषद्का सचिव मोहम्मद बाकर जोल्कदरको हस्ताक्षर रहेको एक आधिकारिक विज्ञप्ति जारी गर्दै इरानले खामेनीको ‘रगतको बदला’ निश्चित रूपमा लिइने स्पष्ट पारेको हो।
सचिव मोहम्मद बाकरले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ (ट्विटर) मार्फत सार्वजनिक गरेको सन्देशमा भनिएको छ, “अयातोल्लाह अली खामेनीको रगतको बदला निश्चित रूपमा उनका हत्याराहरूसँग लिइनेछ।”
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त रूपमा पहिलो पटक भीषण हवाई हमला गरेका थिए। सोही आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष अधिकारीहरू र उनीहरूका परिवारका केही सदस्यहरूको मृत्यु भएको थियो। सोही हत्यालाई लिएर इरानले अहिले कडा प्रतिशोधको चेतावनी दिएको हो।
बीबीसी फारसीका अनुसार, दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोह आगामी जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मसहद सहरहरूमा आयोजना गरिनेछ। यसका साथै छिमेकी देश इराकका बगदाद, काजमिन, करबला र नजफ जस्ता प्रमुख सहरहरूमा पनि उहाँको सम्झनामा विशेष शोक सभाहरू आयोजना गरिने जनाइएको छ।
खामेनीको हत्यापछि मध्यपूर्वमा बढेको तनाव इरानको यो पछिल्लो चेतावनीपूर्ण घोषणासँगै थप चुलिने सङ्केत देखिएको छ।











