२०८३ असार २१ गते, आईतवार १२:२२

ठगहरूको नयाँ हत्कण्डा : अब सीआईबीकै नाम बेचेर धम्की, प्रहरी भन्छ- ‘हामी होइनौं, ठग हुन्’

काठमाडौं –

ठगी गर्ने गिरोहले अब सर्वसाधारणलाई झुक्याउन नयाँ जुक्ति अपनाएको छ। पहिले बैंक, लटरी र विदेशी रोजगारीको नाममा ठग्नेहरू अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कै नाम र प्रतिष्ठालाई दुरुपयोग गर्दै मानिसलाई तर्साएर ठगी गर्ने प्रयासमा सक्रिय भएका छन्।

सीआईबीले आफ्नो नाम र ब्युरो प्रमुखको नाम प्रयोग गरी धम्कीपूर्ण इमेल पठाइँदै आएको खुलासा गर्दै त्यस्ता सन्देशमा कुनै पनि हालतमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ती इमेलमा अंग्रेजी भाषामा “तपाईंविरुद्ध सीआईबीबाट कानुनी कारबाही हुन लागेको छ, तुरुन्त सम्पर्क नगरे अदालतमा मुद्दा दायर हुन्छ” भन्ने आशयका सन्देश पठाएर मानिसलाई मानसिक दबाबमा पार्ने प्रयास गरिएको छ। अर्थात्, अपराधीहरूले प्रहरीको नामलाई नै आफ्नो ‘ब्रान्ड’ बनाएर डर बेच्ने धन्दा चलाइरहेका छन्।

सीआईबीले स्पष्ट पारेको छ कि यस्ता कुनै पनि इमेल आफूले नपठाएको र आफ्नो नाम प्रयोग गरेर कसैलाई धम्की दिने वा सम्पर्क गर्न लगाउने कार्य नगरेको जनाएको छ। ब्युरोका अनुसार यस्ता सन्देश पूर्ण रूपमा भ्रामक, अनधिकृत र ठगी गर्ने उद्देश्यले सिर्जना गरिएका हुन्।

प्रहरीको चेतावनीले अर्को यथार्थ पनि उजागर गरेको छ । प्रविधिको विकाससँगै ठगहरूको शैली पनि ‘अपग्रेड’ हुँदै गएको छ। अब उनीहरू नक्कली बैंक कर्मचारी वा सरकारी कर्मचारी मात्र बनेर सीमित छैनन्, सीधै अनुसन्धान गर्ने प्रहरी निकायको नामसमेत दुरुपयोग गरेर सर्वसाधारणलाई त्रसित बनाउन थालेका छन्।

सीआईबीले यस्ता इमेल प्राप्त भएमा कुनै प्रतिक्रिया नजनाउन, कुनै व्यक्तिगत विवरण वा रकम उपलब्ध नगराउन तथा आवश्यक परे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि गर्न आग्रह गरेको छ।

यस घटनाबारे नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान अघि बढाइसकेको छ। यस्ता साइबर ठगी र सरकारी निकायको नाम दुरुपयोग गर्ने समूहलाई कानुनबमोजिम कारबाही गरिने सीआईबीले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले साइबर माध्यमबाट हुने ठगी, अफवाह र नक्कली सन्देशप्रति सचेत रहन सबै नागरिकलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस