२०८३ असार २२ गते, सोमबार १३:३७

विश्व साइबर अपराध सूचकाङ्क : भारत विश्वका शीर्ष १० साइबर अपराध केन्द्रमा

काठमाडौं-

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै भारतमा साइबर अपराधको जोखिम भयावह रूपमा बढिरहेको बेला अन्तर्राष्ट्रिय अध्ययनले भारतलाई विश्वका प्रमुख साइबर अपराध केन्द्रमध्ये एकका रूपमा औँल्याएको छ। PLOS ONE वैज्ञानिक जर्नलमा प्रकाशित ‘विश्व साइबर अपराध सूचकाङ्क (World Cybercrime Index)’ ले भारतलाई विश्वको दशौँ प्रमुख साइबर अपराध केन्द्रका रूपमा सूचीकृत गरेको हो।

अक्सफोर्ड विश्वविद्यालय र यूएनएसडब्ल्यू (UNSW) क्यानबेराको संयुक्त अध्ययनअनुसार रूस विश्वकै सबैभन्दा ठूलो साइबर अपराध केन्द्र बनेको छ। त्यसपछि युक्रेन, चीन, संयुक्त राज्य अमेरिका, नाइजेरिया, रोमानिया, उत्तर कोरिया, बेलायत, ब्राजिल र भारत क्रमशः शीर्ष १० स्थानमा रहेका छन्।

भारतमा पछिल्ला केही वर्षयता डिजिटल भुक्तानी प्रणाली, अनलाइन बैंकिङ, मोबाइल वालेट, सामाजिक सञ्जाल तथा कृत्रिम बुद्धिमत्ता (AI) को दुरुपयोगमार्फत हुने साइबर अपराध तीव्र रूपमा बढ्दै गएको छ। ‘डिजिटल अरेस्ट’, नक्कली प्रहरी तथा सरकारी अधिकारी बनेर धम्क्याउने, लगानीको प्रलोभन देखाएर ठगी गर्ने, ओटीपी र बैंक खाताको विवरण चोरी गर्ने, सामाजिक सञ्जाल ह्याक गर्ने तथा अन्तर्राष्ट्रिय कल सेन्टरमार्फत सञ्चालन हुने साइबर ठगीका घटनाले भारतलाई विश्वव्यापी चिन्ताको केन्द्र बनाइरहेको अध्ययनले संकेत गरेको छ।

भारतमा हुने यस्ता साइबर अपराधको असर नेपालसहित दक्षिण एशियाका अन्य मुलुकमा समेत पर्न थालेको सुरक्षा विज्ञहरू बताउँछन्। पछिल्ला महिनाहरूमा नेपालमा समेत भारतीय नम्बर प्रयोग गरेर हुने अनलाइन ठगी, नक्कली प्रहरी वा सरकारी अधिकारीको परिचय दिँदै रकम असुल्ने प्रयास, बैंकिङ ठगी तथा सामाजिक सञ्जालमार्फत हुने अपराधका घटना बढिरहेका छन्।

अध्ययनकी सह–लेखिका डा. मिरान्डा ब्रुस (अक्सफोर्ड विश्वविद्यालय तथा यूएनएसडब्ल्यू क्यानबेरा) का अनुसार विश्व साइबर अपराध सूचकाङ्कले साइबर अपराधका प्रमुख केन्द्र पहिचान गरी सरकार तथा निजी क्षेत्रलाई आफ्नो स्रोत–साधन प्रभावकारी रूपमा परिचालन गर्न सहयोग गर्नेछ। यसबाट साइबर अपराध कम भएका क्षेत्रमा अनावश्यक स्रोत खर्च गर्नुको सट्टा उच्च जोखिम भएका मुलुकमा निगरानी र अनुसन्धान केन्द्रित गर्न सहज हुने उनको भनाइ छ।

उनले भनिन्, “यस सूचकाङ्कले साइबर अपराधीहरूलाई ढाकछोप गर्ने गोपनीयताको पर्दा हटाउन मद्दत गर्नेछ। आर्थिक लाभका लागि बढ्दै गएको साइबर अपराधविरुद्धको विश्वव्यापी अभियानलाई यसले अझ प्रभावकारी बनाउने हाम्रो विश्वास छ।”

अध्ययनका अनुसार विश्वभर साइबर अपराधको भौगोलिक वितरण समान छैन। केही निश्चित देशहरूमा साइबर अपराधी समूहको प्रभाव, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय पहुँच अत्यधिक देखिएको छ। यही कारण साइबर अपराध नियन्त्रणका लागि ती देशहरूमा अन्तर्राष्ट्रिय सहकार्य र निगरानी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

विश्व साइबर अपराध सूचकाङ्क तयार गर्न साइबर अपराध अनुसन्धान तथा गुप्तसूचना क्षेत्रमा कार्यरत विश्वभरका ९२ जना विशेषज्ञको राय सङ्कलन गरिएको थियो। उनीहरूलाई साइबर अपराधका पाँच प्रमुख विधाका आधारमा सबैभन्दा सक्रिय स्रोत देश पहिचान गर्न तथा ती देशका अपराधीहरूको प्रभाव, व्यावसायिक क्षमता र प्राविधिक दक्षताको मूल्याङ्कन गर्न लगाइएको थियो।

अध्ययनका अर्का सह–लेखक एसोसिएट प्रोफेसर जोनाथन लस्टहाउसका अनुसार साइबर अपराधीहरूले नक्कली पहिचान, अत्याधुनिक प्रविधि तथा विश्वव्यापी इन्टरनेट पूर्वाधार प्रयोग गरेर आफ्नो वास्तविक स्थान लुकाउने भएकाले उनीहरूको पहिचान गर्न अत्यन्त कठिन हुन्छ। त्यसैले अनुसन्धानमा संलग्न अनुभवी विशेषज्ञहरूको विश्लेषण नै सबैभन्दा भरपर्दो आधार बनेको उनले बताए।

अनुसन्धान टोलीले अब किन केही देश साइबर अपराधका प्रमुख केन्द्र बन्छन् भन्ने विषयमा थप अध्ययन गर्ने जनाएको छ। आगामी अनुसन्धानमा शिक्षा, इन्टरनेट पहुँच, आर्थिक अवस्था, रोजगारी, कुल गार्हस्थ उत्पादन (GDP), भ्रष्टाचार तथा अन्य सामाजिक–आर्थिक सूचक र साइबर अपराधबीचको सम्बन्धको विश्लेषण गरिनेछ।

अध्ययनका अर्का सह–लेखक प्रोफेसर फेडेरिको भारेसेका अनुसार साइबर अपराध सीमाविहीन भए पनि यसको जरा निश्चित सामाजिक, आर्थिक र भौगोलिक परिवेशसँग जोडिएको हुन्छ। ती कारण पहिचान गर्न सके भविष्यमा नयाँ साइबर अपराध केन्द्रको उदय समयमै रोक्न तथा विश्वव्यापी साइबर सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास अनुसन्धानकर्ताहरूको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस