काठमाडौं –
स्थानीय तहमा जनप्रतिनिधिमाथि भ्रष्टाचारका आरोप बढ्दै जाँदा सुशासन र सार्वजनिक स्रोत–साधनको पारदर्शी उपयोगमाथि गम्भीर प्रश्न उठ्न थालेको छ। पछिल्ला वर्षहरूमा विभिन्न पालिका प्रमुख, उपप्रमुख तथा कर्मचारीविरुद्ध भ्रष्टाचारका मुद्दा दर्ता हुने क्रम बढिरहेका बेला नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताले पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी त्यसलाई परिवारका सदस्य तथा नातेदारको नाममा लुकाएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले उनीबाट ३ करोड ४५ लाख रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन भएको दाबी गर्दै सोही बराबरको बिगो, जफत तथा कानुनबमोजिम सजायको माग गरेको छ।
गुप्ता २०७४ साल असारदेखि पाँच वर्षसम्म पाल्हीनन्दन गाउँपालिकाको अध्यक्ष रहेका थिए। अख्तियारका अनुसार सो अवधिमा उनले उल्लेख्य परिमाणमा गैरकानुनी सम्पत्ति जोडेको अनुसन्धानबाट खुलेको छ।
अनुसन्धानअनुसार गुप्ताको कुल सम्पत्ति ६ करोड ९७ लाख रुपैयाँ पुगेको देखिए पनि त्यसमध्ये ३ करोड ५१ लाख रुपैयाँ मात्र वैध आयस्रोतबाट आर्जित भएको पुष्टि भएको अख्तियारको दाबी छ। बाँकी सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो।
सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले गुप्तासँगै उनका बाबु वंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि प्रतिवादी बनाएको छ।
स्थानीय तहमा विकास बजेटको आकार बढ्दै गएसँगै सार्वजनिक पदको दुरुपयोग, अनियमितता र गैरकानुनी सम्पत्ति आर्जनका घटनाहरू सार्वजनिक भइरहेका छन्। सुशासनका पक्षधरहरूले स्थानीय सरकारलाई अझ बढी पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन भ्रष्टाचारविरुद्ध कडा निगरानी तथा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।












