२०८३ असार २३ गते, मंगलवार १०:३१

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष (शेरबहादुर देउवा समूह) ले औपचारिक रूपमै नयाँ पार्टी गठनको तयारी तीव्र पारेको छ। काठमाडौँको चुनदेवीस्थित ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’मा बसेको नेताहरूको बैठकले नयाँ पार्टी घोषणाका लागि राष्ट्रिय भेला आह्वान गर्ने तयारीलाई अन्तिम रूप दिँदै मिति तय गर्ने प्रक्रिया अघि बढाएको हो।

शीर्ष तहमा नयाँ पार्टी गठनबारे सैद्धान्तिक सहमति बनेपछि अब राष्ट्रिय भेलामार्फत त्यसको औपचारिक घोषणा गर्ने रणनीति नेताहरूले बनाएका छन्। यसअघि गत असार १९ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा नयाँ पार्टी गठनको रणनीति र राष्ट्रिय भेलाको उद्देश्यबारे शीर्ष नेताहरूबीच गहन छलफल भएको थियो।

कोइरालाद्वयमध्ये एकलाई नेतृत्वमा अघि सारिने, गगन थापामाथि असहयोगको आरोप

गोल्फुटार बैठकमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकलगायतका शीर्ष नेताहरू सहभागी थिए। बैठकमा नेता कृष्णप्रसाद सिटौलाले आफू नेतृत्वको दाबेदार नरहेको प्रष्ट पार्दै बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको राजनीतिक धारसँग जोडिएका नेताहरूमध्येबाटै नेतृत्व चयन हुनुपर्ने धारणा राख्नुभएको थियो। स्रोतका अनुसार नयाँ पार्टीको नेतृत्वमा डा. शेखर कोइराला वा डा. शशांक कोइरालामध्ये एकजनालाई अघि सार्ने विषयमा छलफल भइरहेको छ।

बैठकमा डा. प्रकाशशरण महत, एनपी साउद र रमेश लेखकले वर्तमान सभापति गगन थापा पार्टी एकताको पक्षमा सक्रिय नदेखिएको र पटक–पटक संवाद गर्दा पनि एकीकरणको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष सुनाउनुभएको थियो। सन् २००२ (२०५९ साल) मा नेपाली कांग्रेस विभाजन भई कांग्रेस प्रजातान्त्रिक गठन हुँदा देउवाको साथमा रहेका महत, साउद र लेखकले अहिले पनि आवश्यक परे नयाँ पार्टी गठन गर्न प्राविधिक र राजनीतिक रूपमा कुनै कठिनाइ नहुने धारणा राख्नुभएको बुझिएको छ।

साउन ६ गते देशव्यापी प्रतिनिधि खटाइने, चुनाव चिह्न ‘शंख’ मा छलफल

कांग्रेस इतर पक्षले नयाँ पार्टी निर्माणको अभियानलाई देशव्यापी बनाउन कार्ययोजना समेत तय गरेको छ। बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आगामी साउन ६ गते देशका १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाइने भएको छ। ती प्रतिनिधिले स्थानीय नेता–कार्यकर्तासँग छलफल गर्दै नयाँ अभियानमा सहभागी हुन आग्रह गर्नेछन्।

नयाँ पार्टीको सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने र चुनाव चिह्न ‘शंख’ बनाउने विषयमा प्रारम्भिक छलफल भएको नेताहरूले बताएका छन्। नेतृत्वमा अनुभवी नेता रहने र अधिकांश पदाधिकारीमा युवा पुस्तालाई अवसर दिने अवधारणा बनाइएको छ। नयाँ पार्टी निर्माणको यो अभियानलाई १५औँ महाधिवेशनसँगै आगामी स्थानीय तथा प्रदेश निर्वाचन केन्द्रित बनाउने रणनीति छ।

एमाले र नेकपाको चासो, सहकार्यका लागि सकारात्मक

यता कांग्रेस इतर पक्षको यो गतिविधिलाई नेकपा (एमाले) र नेकपाले पनि नजिकबाट नियालिरहेका छन्। आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा सम्भावित सहकार्य र गठबन्धनबारे विभिन्न तहमा अनौपचारिक संवाद भइरहेको नेताहरूको दाबी छ।

नेकपाका शीर्ष नेताहरूले डा. शेखर कोइरालासँग भेटघाट गरिसकेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कांग्रेसको आन्तरिक राजनीतिक अवस्थाबारे गम्भीर चासो राख्नुभएको बताइएको छ। नयाँ राजनीतिक शक्ति गठन भएमा सो पार्टीसँग सहकार्य गर्न एमाले र नेकपा दुवै सकारात्मक देखिएका छन्। यद्यपि नयाँ पार्टी गठन, नेतृत्व चयन, नाम र चुनाव चिह्नबारे अन्तिम र संस्थागत निर्णय भने आगामी राष्ट्रिय भेलाले नै गर्ने नेताहरूले जनाएका छन्।

प्रतिक्रिया

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

पोडकास्ट सुन्नुहोस