२०८३ असार २३ गते, मंगलवार १८:३१

सोनवा के रथ गहवा माई के” भजन विमोचन सम्पन्न, चौथो विशाल रथ यात्राको तयारीलाई थप उत्साह

वीरगन्ज-

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आगामी असार ३२ गते आयोजना हुन गइरहेको मधेश प्रदेशकै ऐतिहासिक तथा जनआस्थाको केन्द्र श्री गहवा माईको चौथो विशाल रथ यात्रालाई लक्षित गर्दै तयार पारिएको भक्तिमय भजन “सोनवा के रथ गहवा माई के” को डिजिटल भिडियो मंगलबार वीरगञ्जस्थित माईस्थान मन्दिर परिसरमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

गहवा माईप्रतिको आस्था, श्रद्धा र भक्तिभावलाई समेटेर निर्माण गरिएको उक्त भजनमा वीरगञ्जका उदयमान युवा गायक चन्दन पण्डितले आफ्नो सुमधुर स्वर दिएका छन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस भजनले गहवा माईको महिमा देश–विदेशसम्म फैलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै आयोजकहरूले सबै भक्तजनलाई “CHANDAN PANDIT OFFICIAL” युट्युब च्यानलमार्फत भजन हेर्न, सुन्न तथा सामाजिक सञ्जालमार्फत बढीभन्दा बढी साझा गरी गहवा माईको महिमा व्यापक रूपमा फैलाउन आग्रह गरेका थिए।

भजन विमोचन कार्यक्रम श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलको अध्यक्षतामा एवं प्रमुख अतिथी
समाजसेवी प्रकाश उपाध्यायको आतिथ्यमा सम्पन्न भएको थियोे भने श्री गहवा माई रथ यात्रा–२०८३ का संयोजक बसन्त कुमार गुप्ता, श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), विद्वान पण्डित एवं ज्योतिषी राजिव रन्जन भार्द्वज, लगायत पदाधिकारी तथा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित वक्ताहरूले गहवा माईको रथ यात्रा वीरगञ्जको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण, प्रवर्द्धन र भव्य सफलताका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

समितिका अनुसार आगामी असार ३२ गते आयोजना हुने चौथो विशाल रथ यात्रामा हजारौं श्रद्धालु भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। रथ यात्रालाई सभ्य, भव्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाइएको समितिले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस