२०८३ असार २५ गते, बिहीबार ११:१९

सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि गोली प्रहार, लुटपाटको प्रयास असफल

लालबन्दी

सर्लाहीको लालबन्दीमा बुधबार राति एक मोबाइल व्यवसायीमाथि लुटपाटको प्रयास गर्दै अज्ञात समूहले गोली प्रहार गरेको छ। लालबन्दी नगरपालिका–७ र ९ को सिमानामा पर्ने आइडियल स्कुल नजिकैको एकान्त क्षेत्रमा मोबाइल पसल सञ्चालकमाथि हतियारधारी समूहले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी–९ बस्तीपुरका हरिप्रसाद सापकोटामाथि राति ८ बजेपछि लुटपाटको प्रयास भएको हो।

व्यवसायी सापकोटा बजारको पसल बन्द गरेर आफ्ना एक साथीसँग मोटरसाइकलमा घर फर्किरहेका थिए। सोही क्रममा मोटरसाइकलमै आएका अपरिचित व्यक्तिहरूले उनीहरूलाई रोकेर लुटपाट गर्न खोजेका थिए। लुटपाटका क्रममा व्यवसायी र लुटेरा समूहबीच सामान्य धकेलाधकेल भएपछि हतियारधारी व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी गौतमले जानकारी दिनुभयो।

प्रहरीले घटनास्थलबाट पड्किसकेको कटुवा पेस्तोलको दुई वटा खोका बरामद गरेको छ। गोली प्रहार भए तापनि व्यवसायी सापकोटा र उनीसँगै मोटरसाइकलमा रहेका अर्का व्यक्ति दुवै जना सुरक्षित रहेको प्रहरीले जनाएको छ।

रातभर सर्च अपरेसन, लुटेरा फरार

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीकै नेतृत्वमा थप प्रहरी टोली लालबन्दी पुगेको थियो। स्थानीय प्रहरी र जिल्लाको संयुक्त टोलीले घटनामा संलग्न व्यक्तिहरूको खोजीका लागि बिहीबार बिहान २ बजेसम्म व्यापक ‘सर्च अपरेसन’ चलाएको थियो। यद्यपि, हालसम्म घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैनन्।

व्यस्त बजार नजिकै व्यवसायीमाथि लुटपाटको उद्देश्यले गोली प्रहार भएपछि लालबन्दी क्षेत्रका व्यवसायी तथा स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। लालबन्दी नगरपालिका–९ का वडा सदस्य विनोद तिमल्सिनाले यस घटनाले स्थानीयवासीमा असुरक्षाको भावना बढाएको भन्दै सुरक्षा व्यवस्था कडा पार्न र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्नुभएको छ। प्रहरीले घटनाको गम्भीरतापूर्वक थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस