काठमाडौँ–
आज देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। विभिन्न मौसम पूर्वानुमान मोडेलहरूले भोलि (शुक्रबार) देखि आगामी आइतबारसम्म पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत गरेका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका हुन्। तर, वर्षाको निश्चित क्षेत्र र मात्रा भने फरक–फरक हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ। कतिपय स्थानमा मोडेलले देखाएको भन्दा बढी र कतिपय स्थानमा कम वर्षा हुनसक्ने भएकाले मौसमविद्हरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
मौसमविद् पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भन्नुभएको छ, “केही ठाउँमा मोडेलले देखाएको भन्दा धेरै र केही ठाउँमा थोरै पनि वर्षा हुन्छ। त्यसैले सजग हुनुहोला।”
यस अवधिमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम रहने र नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पहाडी क्षेत्रको तुलनामा तराईमा कम वर्षा
देशभर मनसुन सक्रिय रहे पनि पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान मोडेलहरूले वर्षाको सम्भावना देखाए पनि तराईका धेरै स्थानमा उल्लेख्य वर्षा हुन सकेको छैन।
मौसमविद् पोखरेलका अनुसार यसको मुख्य कारण वर्षा गराउने बादललाई माथितर्फ उकास्ने प्रणाली कमजोर हुनु हो। पहाडी भूभागको भौगोलिक बनावटले बादललाई माथि उठाउन (ओरोग्राफिक लिफ्ट) सहयोग गर्ने भएकाले पहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा भइरहेको छ। तर, समथर तराई क्षेत्रमा बादल बनेर पनि पर्याप्त मात्रामा वर्षा हुन नसकेको मौसमविद्हरूको विश्लेषण छ।












