२०८३ असार २५ गते, बिहीबार १५:५७

अब फोटो मात्रै होइन, ‘नागरिकता’ पनि स्टुडियोमै तयार ! प्रविधिको दुरुपयोगले ठगीको नयाँ संस्करण

विराटनगर –

प्रविधिले संसारलाई डिजिटल बनायो, तर केही चलाख दिमागले त्यसलाई ठगीको ‘प्रिन्टिङ प्रेस’ नै बनाइदिए। अहिले फोटो स्टुडियोमा पासपोर्ट साइज फोटो मात्रै होइन, चाहियो भने ‘नागरिकता’ समेत तयार हुने रहेछ भन्ने तथ्य विराटनगरमा खुलेको छ।

मजदुरी गरेर गुजारा चलाइरहेकी एकल महिला मनिषा कामतले नागरिकता बनाइदिने आश्वासनमा एक लाख ३० हजार रुपैयाँ बुझाइन्। केही फोटो र कागजात दिएपछि तीन दिनमै उनी र उनका मामाको नागरिकता हातमा पर्यो। प्रविधिको गति यति तीव्र रहेछ कि सरकारी प्रक्रिया पनि पछि परेछ। तर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुग्दा भने उनको ‘डिजिटल सपना’ तत्कालै चकनाचुर भयो। कर्मचारीले नागरिकता नक्कली भएको बताएपछि घटनाले नयाँ मोड लियो।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलको निर्देशनमा प्रहरीले अनुसन्धान अघि बढाउँदा ६५ वर्षीय अशोककुमार श्रेष्ठ पक्राउ परे। उनीसँगबाट थप १० थान नक्कली नागरिकता बरामद भयो। ती नागरिकतामा नेपाल सरकारको होलोग्राम, कार्यालयको छाप, अधिकृतको हस्ताक्षर र लेमिनेसनसम्म यति हुबहु नक्कल गरिएको थियो कि हेर्दा असली र नक्कली छुट्याउन अनुभवी कर्मचारीलाई समेत ध्यान दिनुपर्ने अवस्था देखियो।

अनुसन्धानले अर्को चकित पार्ने तथ्य पनि उजागर गर्‍यो। विराटनगर–५ स्थित महेन्द्र चोकमा रहेको ‘न्यू डोली फोटो सर्भिसेज’ फोटो खिच्ने ठाउँभन्दा बढी ‘कागजात उत्पादन केन्द्र’का रूपमा प्रयोग भइरहेको प्रहरीले जनाएको छ। स्टुडियो सञ्चालक धनदेव राजवंशीले सुरुमा संलग्नता अस्वीकार गरे पनि पछि श्रेष्ठले उपलब्ध गराएका विवरणका आधारमा १०–११ वटा नागरिकता डिजाइन र प्रिन्ट गरेको स्वीकार गरेका छन्।

स्टुडियोबाट नक्कली जन्मदर्ता, नागरिकता, राष्ट्रिय परिचयपत्रका फाराम, वडाका सिफारिसपत्र, होलोग्राम, प्रिन्टिङ सामग्री तथा अन्य उपकरण बरामद भएका छन्। बरामद कागजातमा २०६८ देखि २०८२ सालसम्मका मिति राखिएको छ भने हाल कार्यरत र सरुवा भइसकेका सरकारी अधिकृतहरूको हस्ताक्षरसम्म नक्कल गरिएको पाइएको छ।

घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ , प्रविधि कसका लागि? सेवा सहज बनाउन कि ठगीलाई अझ परिष्कृत बनाउन? आज कृत्रिम बुद्धिमत्ता, उच्चस्तरीय डिजाइन सफ्टवेयर र आधुनिक प्रिन्टरको गलत प्रयोगले ठगीलाई यति ‘व्यावसायिक’ बनाइरहेको छ कि सर्वसाधारण मात्रै होइन, सरकारी संयन्त्रसमेत झुक्किने जोखिम बढ्दो छ।

प्रमुख जिल्ला अधिकारी कटेलले यो संगठित अपराध भएको उल्लेख गर्दै होलोग्राम, हस्ताक्षर र सरकारी कागजातको नक्कल गरी नागरिकलाई ठग्ने कार्य अत्यन्त गम्भीर अपराध भएकाले दोषीमाथि कडा कानुनी कारबाही गरिने बताएका छन्। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रविधि आफैं अपराधी होइन, तर त्यसको दुरुपयोग गर्नेहरूका कारण अहिले फोटो स्टुडियो र साइबर उपकरणहरू केही गिरोहका लागि ‘नक्कली सरकारी कार्यालय’ बन्दै गएको यो घटनाले स्पष्ट संकेत दिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस