२०८३ असार २५ गते, बिहीबार १८:४९

वीरगन्ज महानगरपालिका कार्यवाहक नगरप्रमुखको आश्वासनपछि कर्मचारी काममा फर्किए

वीरगन्ज –

बक्यौता तलब-सुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलनमा उत्रिएका वीरगन्ज महानगरपालिकाका कर्मचारीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग भएको वार्तामा सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन्।

दुई महिनाको बक्यौता तलब उपलब्ध गराउन माग गर्दै बिहीबार बिहानदेखि आन्दोलनमा उत्रिएका कर्मचारीसँग भएको छलफलमा आजै एक महिनाको तलब निकासा गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो। सहमतिपछि कर्मचारी अपराह्न ३ बजेदेखि नियमित काममा फर्किएका छन्।

महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले आजै कर्मचारीको एक महिनाको तलब निकासा गरिने जानकारी गराएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको आन्दोलनका अगुवा तथा महानगरपालिकाका कर्मचारी मुकेश गुप्ताले जानकारी दिए।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराको उपस्थितिमा कार्यवाहक नगरप्रमुखले कर्मचारीको खातामा तलब जम्मा गरिने आश्वासन दिएपछि सम्पूर्ण कर्मचारी नियमित काममा फर्किएका हुन्।

यसअघि बिहानैदेखि कर्मचारीले कार्यालयको कामकाज अवरुद्ध गर्दै आन्दोलन गरेपछि विभिन्न सेवा लिन महानगरपालिका पुगेका सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो। आन्दोलन स्थगित भएसँगै महानगरपालिकाको नियमित सेवा प्रवाह र प्रशासनिक कामकाज पुनः सुचारु भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस