२०८३ असार २५ गते, बिहीबार २०:३४

काठमाडौंमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुँदै

काठमाडौं –

स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ काठमाडौँमा १२ औं ‘नेपाल हायर एजुकेसन फेयर’ आयोजना हुने भएको छ । विगत ११ वर्षदेखि स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्दै आएको यस मेलाको १२ औँ संस्करण यही असार २७ र २८ गते हुने भिजन इन्कर्पोरेसनका निर्देशक तारा मान रावलले जानकारी दिए ।

रावलका अनुसार कार्यक्रम काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा आयोजना हुनेछ ।

भिजन मिडिया इन्कर्पोरेसन, एजुकेसन डटकम र अनुपम एकेडेमीको संयुक्त आयोजनामा हुन लागेको यस शैक्षिक मेलाको मुख्य उद्देश्य नेपालमै उपलब्ध गुणस्तरीय उच्च शिक्षाबारे विद्यार्थी तथा अभिभावकहरूलाई सही, विश्वसनीय र प्रत्यक्ष जानकारी उपलब्ध गराउनु रहेको छ ।

साथै, स्वदेशी शिक्षाप्रति सकारात्मक धारणा विकास गर्नु पनि यसको लक्ष्य रहेको आयोजकले जनाएको छ । ५० भन्दा बढी कलेज र शैक्षिक संस्थाहरूको सहभागितामा दुई दिनसम्म चल्ने यस मेलामा नेपालका विभिन्न विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी प्रतिष्ठित कलेज तथा शैक्षिक संस्थाहरू सहभागी हुनेछन् ।

मेलामा व्यवस्थापन,सूचना प्रविधि , इन्जिनियरिङ, मेडिकल, हस्पिटालिटी, एभिएसन, मानविकी,कानुन,शिक्षा तथा विज्ञान संकायअन्तर्गतका स्नातक र स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूबारे विस्तृत जानकारी दिइनेछ । मेलामा काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, शंकरदेव क्याम्पस, युनिभर्सिटी अफ नेपाल र नेपाल इन्जिनियरिङ कलेज जस्ता देशका प्रतिष्ठित शैक्षिक संस्थाहरूको समेत सहभागिता रहनेछ ।

निःशुल्क परामर्श र आकर्षक उपहारको व्यवस्था 

मेलामा आउने विद्यार्थी तथा अभिभावकहरूका लागि निःशुल्क शैक्षिक तथा करियर परामर्श प्रदान गरिने आयोजकले जनाएको छ । यसका साथै, आगन्तुकहरूका लागि निःशुल्क चलचित्र टिकट, छात्रवृत्ति, लक्की ड्र तथा विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको छ । मेलामा ५ हजारभन्दा बढी प्लस टु उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस