काठमाडौं –
अमेरिका–इरानबीच चर्किएको सैन्य द्वन्द्वले मध्यपूर्व मात्र होइन, विश्व अर्थतन्त्रलाई समेत गम्भीर दबाबमा पार्न थालेको छ। विशेषगरी विश्वको प्रमुख तेल ढुवानी मार्ग होर्मुज स्ट्रेट असुरक्षित बन्दै जाँदा अन्तर्राष्ट्रिय इन्धन आपूर्तिमा अवरोध आउने जोखिम बढेको छ। यसले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ढुवानी खर्च महँगिनु र त्यसको प्रत्यक्ष प्रभाव खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्यमा पर्ने विश्लेषण हुन थालेको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार पछिल्लो दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य संरचनामा आक्रमण गरिएको छ। निशानामा वायु प्रतिरक्षा प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा तटीय सैन्य अखडाहरू परेका छन्।
अमेरिकी हमलापछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज स्ट्रेटमा कुनै पनि हस्तक्षेप स्वीकार नगर्ने चेतावनी दिएको छ। आईआरजीसीले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लीट मुख्यालय, कुवेतको अली अल–सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमहरूले अमेरिकी आक्रमण जारी रहे होर्मुज स्ट्रेटको अवस्था सामान्य नरहने र त्यस मार्गमा निर्भर विश्वका धेरै मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन्। विश्वमा समुद्री मार्गबाट हुने कच्चा तेल ढुवानीको ठूलो हिस्सा यही जलमार्ग हुँदै हुने भएकाले यस क्षेत्रमा अस्थिरता बढे विश्वव्यापी इन्धन संकट गहिरिन सक्ने चिन्ता बढेको छ।
युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने संकेत देखिएको छ। यसको प्रत्यक्ष असर ढुवानी, हवाई सेवा, उद्योग तथा उत्पादन लागतमा पर्ने भएकाले विश्वभर महँगी थप चुलिने जोखिम विज्ञहरूले औँल्याएका छन्। आयातित इन्धनमा निर्भर नेपालजस्ता मुलुकमा पनि पेट्रोलियम पदार्थ महँगिनुका साथै उपभोग्य वस्तुको मूल्यसमेत बढ्न सक्ने आकलन गरिएको छ।
यसैबीच, उत्तरी इरानमा चीन र रुससँग जोडिएको रणनीतिक रेलमार्गको पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको खबर सार्वजनिक भएको छ, जसले क्षेत्रीय तनावलाई थप बढाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानसँगको युद्धविराम समाप्त भएको र अब कुनै नयाँ सम्झौता नगर्ने बताएका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले प्राविधिक तहमा कूटनीतिक संवाद अझै जारी रहेको र कतार तथा पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको बताएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने धम्कीको वातावरणमा अमेरिकासँग कुनै वार्ता सम्भव नरहेको स्पष्ट पार्दै वाशिङ्टनले विगतका अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान गर्नुपर्ने बताएका छन्।
तनावकै बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मशहदस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको छ। युद्धको त्रासका बीच सम्पन्न उक्त कार्यक्रममा ठूलो जनसहभागिता भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
उता, अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा इरानको मात्र नियन्त्रण नरहेको दाबी गर्दै हालसम्म ८०० भन्दा बढी व्यापारिक जहाज सुरक्षित रूपमा आवतजावत गराइएको जनाएको छ। कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र जोर्डनले पनि क्षेत्रीय सुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै इरानी मिसाइल आक्रमणको निन्दा गरेका छन्।
विश्व बजारले अहिले सबैभन्दा बढी चासो होर्मुज स्ट्रेटको अवस्थामाथि राखेको छ। यदि युद्ध थप चर्कियो वा तेल ढुवानी अवरुद्ध भयो भने त्यसको असर इन्धनको मूल्यवृद्धिसँगै विश्वव्यापी महँगी, आपूर्ति शृंखला र आर्थिक वृद्धिमा समेत गम्भीर रूपमा पर्ने अनुमान गरिएको छ।












